काठमाडौं । ७ ब्रोकर कम्पनीले लाइसेन्स पाएका छन्। सोमबार बसेको बोर्ड बैठकले सात ब्रोकरलाई लाइसेन्स दिने निर्णय गरेको हो। बोर्डले पछिल्लो समय ४३ ब्रोकर कम्पनीलाई एलओआइ दिएको छ। निवेदन भने ४६ कम्पनीले दिएका थिए। निवेदन दिएका मध्ये तीन कम्पनी भने लाइसेन्सको रेसबाट आउट भएका थिए। पछिल्लो समय धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०७९ को पाँचौँ संशोधनले लाइसेन्स वितरणको लागि समय सीमा नै तोकेको छ। सोही कारण बोर्डले परेका निवेदनको जाँचबुझलाई तीव्रता दिँदै ४३ कम्पनीलाई एलओआइ दिएको थियो। तिनै मध्ये ७ ले पूर्वाधार तयार गरी निवेदन दिएका थिए। लाइसेन्स पाउनेमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, शेयर प्रो सेक्युरिटिज र प्रोपर्टी विजार्ड रहेका छन्। नियमावलीको नियम ३ मा अनुमतिको लागि निवेदन दिनु पर्ने व्यवस्था छ। उक्त नियमको (३) मा “बोर्डको उपनियम (२) बमोजिम निवेदन प्राप्त भएपछि रित पूर्वक निवेदन परे नपरेको, आवश्यक विवरण तथा कागजात संलग्न भए नभएको र ऐन तथा यस नियमावली बमोजिम पुरा गर्नुपर्ने सर्त पुरा भए नभएको जाँचबुझ गरी निवेदन दिने म्याद समाप्त भएको मितिले ३५ दिनभित्र अनुमति पत्र जारी हुन सक्ने वा नसक्ने सम्बन्धमा निर्णय गर्नु पर्नेछ” भनिएको छ। सोही निर्णय अनुसार बोर्डले ४३ कम्पनीलाई एलओआइ दिएको थियो। नियमावली अनुसार बोर्डले अनुमति पत्र दिने निर्णय गरेमा १५ दिन भित्र र नदिने निर्णय गरेको भए सात दिन भित्र निवेदकलाई जानकारी दिनु पर्ने छ। यदि बोर्डले निवेदकलाई नयाँ ब्रोकरको अनुमति दिने निर्णय गरेमा उक्त विषयको जानकारीसहित नियम ५ बमोजिम पूर्वाधार तयार गर्न समेत सूचित गर्नु पर्ने हुन्छ। सोही नियम अनुसार बोर्डले योग्यलाई अनुमति दिने निर्णयसहित पूर्वाधार तयार गर्नको लागि एलओआइ समेतसँगै दिएको थियो।