free website hit counter

अन्तर्राष्ट्रिय बजारको प्रभाव सुनमा देखियाे

beemaadmin
२०८३ असार ६, शनिबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो एक साताको अवधिमा उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत जेठ २९ गते प्रतितोला २ लाख ९२ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य असार ५ गतेसम्म आइपुग्दा ५ हजार ३०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँमा झरेको छ।

गत साताको सुरुआतमा भने सुनको मूल्य लगातार उकालो लागेको थियो। जेठ ३१ गते आइतबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले बढेर २ लाख ९३ हजार २०० रुपैयाँ पुगेको थियो। त्यसको भोलिपल्ट असार १ गते सोमबार पुनः ५ हजार रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ पुगेको थियो।

असार २ गते मंगलबार सुनको मूल्य सामान्य ३०० रुपैयाँले बढेर २ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको थियो। तर त्यसपछि बजारले ओरालो यात्रा सुरु गर्‍यो। असार ३ गते बुधबार प्रतितोला १ हजार २०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँमा झरेको सुन असार ४ गते बिहीबार थप १०० रुपैयाँले घटेर २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

सबैभन्दा ठूलो गिरावट भने असार ५ गते शुक्रबार देखियो। एकै दिन सुनको मूल्य प्रतितोला १० हजार ५०० रुपैयाँले घट्दै २ लाख ८६ हजार ७०० रुपैयाँमा सीमित भयो। यो हालसम्मकै ठूलो दैनिक गिरावटमध्ये एक मानिएको छ।

किन घट्दैछ सुनको मूल्य ?

सुनचाँदी व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको परिवर्तनका कारण नेपाली बजारमा पनि सुनको मूल्य घट्न थालेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यका अनुसार पछिल्ला दिनमा विश्वव्यापी रूपमा बढेको भू–राजनीतिक तनाव केही कम हुँदै गएको संकेत देखिएको छ। युद्ध र द्वन्द्वको जोखिम कम हुने अपेक्षासँगै लगानीकर्ताहरू सुरक्षित लगानी मानिने सुनबाट अन्य क्षेत्रतर्फ आकर्षित हुन थालेका छन्।

उनका अनुसार केही देशहरूले आफ्नो सञ्चित सुनको भण्डार बिक्री गर्न थालेको चर्चा पनि अन्तर्राष्ट्रिय बजारमा छ, जसले आपूर्ति बढाउँदा मूल्यमा दबाब परेको हुन सक्छ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको अवस्था, ब्याजदर सम्बन्धी नीतिगत संकेत, केन्द्रीय बैंकहरूको खरिद–बिक्री गतिविधि तथा लगानीकर्ताको मनोविज्ञानले समेत सुनको मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

आगामी दिनमा के होला ?

व्यवसायीहरूका अनुसार सुनको मूल्य आगामी दिनमा अन्तर्राष्ट्रिय घटनाक्रमअनुसार उतारचढाव भइरहने सम्भावना छ। यदि विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्यो वा भू–राजनीतिक तनाव फेरि चर्कियो भने सुनको मूल्य पुनः बढ्न सक्छ। तर अन्तर्राष्ट्रिय बजारमा स्थिरता कायम रहेमा हालको मूल्य घट्ने क्रम केही समय जारी रहन सक्ने अनुमान गरिएको छ।

यद्यपि, सुनको मूल्यमा दैनिक रूपमा ठूलो उतारचढाव देखिन सक्ने भएकाले लगानीकर्ता तथा उपभोक्ताले अन्तर्राष्ट्रिय बजारको अवस्थालाई नजिकबाट नियाल्नुपर्ने व्यवसायीहरूको सुझाव छ।

सम्बन्धित समाचार