काठमाडौं । एनआरएनएको लगानीमा सञ्चालन हुन लागेको नयाँ पुनर्बिमा कम्पनीको संस्थापक शेयरधनी बन्न सबैजासे बीमा कम्पनीहरु राजी भएका छन् भने बैंकहरुको पनि आकर्षण देखिएको छ । अधिकांश बीमा कम्पनीहरुले नयाँ पुनर्बीमा कम्पनीको संस्थापक सेयरधनी बन्न तयार रहेको जानकारी दिएका छन् ।
कम्पनी स्थापनको लागि गैरआवाशीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, उनका भाइ डा. विरेन्द्र महतो तथा व्यवसायिक घरानाहरु शंकर ग्रुप, विशाल ग्रुप र शारदा ग्रुपको मुख्य लगानी रहने बताइएको छ ।
प्रस्तावित अन्नपूर्ण रिइन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनी बन्न गरेको प्रस्तावलाई प्रायः सबै बीमा कम्पनीहरुले स्वीकार गरेका छन् । नयाँ रिइन्स्योरेन्स कम्पनीले बीमा कम्पनीहरुलाई १० करोड रुपैयाँदेखि १५ करोड रुपैयाँसम्मको संस्थापक सेयर लिन ‘अफर लेटर’ पठाएको थियो । त्यस्तो अफर लेटरका बारेमा बीमा कम्पनीहरुका संचालक समितिमा छलफलपछि प्रस्तावित रकम बराबरकै सेयर हाल्ने जानकारी गराइएको छ । अधिकांश बीमा कम्पनीहरुले १० देखि १५ करोड रुपैयाँसम्मकै संस्थापक सेयर हाल्ने पत्र पठाएको बताइउको छ ।
प्रस्तावित कम्पनीको अधिकृत पुँजी १५ अर्ब रुपैयाँ हुने भनिएको छ । जारी पुँजी १० अर्ब रुपैयाँ छ । प्रमोटरले ७ अर्ब रुपैयाँ र सर्वसाधारणको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ सेयर स्वामित्व रहनेछ । स्रोतका अनुसार अहिलेसम्म कृषि विकास बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले संस्थापक सेयर धनी बन्ने जानकारी गराइसकेका छन् । अन्य बैंक वित्तीय संस्थाहरुले पनि लगानी प्रतिवद्धताको पत्र प्रस्तावित कम्पनीलाई पठाउने अन्तिम तयारी गरिरहेका छन् ।
प्रस्तावित कम्पनीले प्रमोटर सेयरको लागि गरेको अफर अबको एक साताभित्रै बुकलक गर्ने तयारी गरेको छ । कम्पनीका लागि आवश्यक पुँजी जुट्ने करिब पक्का भएकोले बुकलक गर्न लागिएको बताइएको छ । कम्पनीमा प्रमोटर सेयरधनीको ७ अर्ब लगानीमध्ये संस्थागत लगानीकर्ताको तर्फबाट ४ अर्ब र व्यक्तिगत लगानीकर्ताको तर्फबाट ३ अर्ब रुपैयाँ लगानी गर्ने भनिएको थियो । तर, नयाँ कम्पनी स्थापना गर्नको लागि संस्थागत लगानीकर्ताको तर्फबाट बढी आकर्षण भएको देखिएपछि व्यक्तिगत लगानीकर्ताको लगानी कम गरेर संस्थागत लगानीकर्ताको लगानी बढाउन लागिएको छ ।