free website hit counter

अभिकर्ताले नै लगे ११ अर्बभन्दा बढी कमिसन

beemaadmin
२०८३ जेष्ठ १०, आईतवार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले अभिकर्ता कमिसनबापत ११ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेका छन्। सार्वजनिक वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीले चैत मसान्तसम्म कुल ११ अर्ब ४ करोड ४९ लाख रुपैयाँ कमिसन खर्च गरेका हुन्।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जीवन बीमकहरूले ९ अर्ब ८५ करोड ७७ लाख रुपैयाँ कमिसन वितरण गरेका थिए। यस आधारमा चालु वर्षमा अभिकर्ता कमिसन खर्च १२.०४ प्रतिशतले वृद्धि भएको देखिन्छ।

कमिसन वितरणको हिसाबले नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले चैतसम्म २ अर्ब ७३ करोड ६६ लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ। गत वर्षको सोही अवधिमा यो रकम २ अर्ब ४१ करोड १६ लाख रुपैयाँ रहेको थियो, जसअनुसार १३.४८ प्रतिशत वृद्धि भएको छ।

दोस्रो स्थानमा रहेको नेसनल लाइफले १ अर्ब ६२ करोड २५ लाख रुपैयाँ कमिसन वितरण गरेको छ। अघिल्लो वर्षको तुलनामा यसको खर्च ९.२६ प्रतिशतले बढेको हो।

त्यसैगरी, एलआईसी नेपालले १ अर्ब ७ करोड २४ लाख रुपैयाँ र हिमालयन लाइफले १ अर्ब ४ करोड ३० लाख रुपैयाँ अभिकर्ता कमिसन खर्च गरेका छन्। यी दुवै कम्पनीको खर्च पनि अघिल्लो वर्षको तुलनामा क्रमशः ९.१२ प्रतिशत र ५.७४ प्रतिशतले बढेको छ।

अन्य कम्पनीहरूमध्ये सूर्यज्योति लाइफले ७४ करोड रुपैयाँ, एसियन लाइफले ५९ करोड ७० लाख रुपैयाँ, सिटिजन लाइफले ५६ करोड २६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५४ करोड १० लाख रुपैयाँ तथा आइएमई लाइफले ४३ करोड ६४ लाख रुपैयाँ कमिसन वितरण गरेका छन्।

वृद्धिदरका आधारमा भने आइएमई लाइफ सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको अभिकर्ता कमिसन खर्च अघिल्लो वर्षको तुलनामा २९.९२ प्रतिशतले बढेको छ। त्यस्तै सिटिजन लाइफको १७.४८ प्रतिशत, रिलायबल नेपाल लाइफको १७.६० प्रतिशत तथा सानिमा रिलायन्स लाइफको १५.४० प्रतिशतले वृद्धि भएको छ।

कुन कम्पनीले कति कमिसन वितरण गर्‍यो ?

जीवन बीमा कम्पनी कमिसन खर्च (रु.) वृद्धिदर
नेपाल लाइफ २ अर्ब ७३ करोड ६६ लाख १३.४८%
नेसनल लाइफ १ अर्ब ६२ करोड २५ लाख ९.२६%
एलआईसी नेपाल १ अर्ब ७ करोड २४ लाख ९.१२%
हिमालयन लाइफ १ अर्ब ४ करोड ३० लाख ५.७४%
सूर्यज्योति लाइफ ७४ करोड ११.५८%
एसियन लाइफ ५९ करोड ७० लाख ११.०३%
सिटिजन लाइफ ५६ करोड २६ लाख १७.४८%
सानिमा रिलायन्स लाइफ ५४ करोड १० लाख १५.४०%
आइएमई लाइफ ४३ करोड ६४ लाख २९.९२%
रिलायबल नेपाल लाइफ ४२ करोड २३ लाख १७.६०%
मेटलाइफ ४१ करोड ४८ लाख ११.५४%
प्रभु महालक्ष्मी लाइफ ३९ करोड ६३ लाख १३.७२%
सन नेपाल लाइफ ३१ करोड ६७ लाख १०.१६%
राष्ट्रिय जीवन बीमा कम्पनी १४ करोड ३३ लाख २.०७%

बीमा व्यवसाय विस्तारसँगै अभिकर्तामार्फत बीमालेख बिक्री बढ्दै जाँदा कम्पनीहरूको कमिसन खर्च पनि निरन्तर उकालो लागेको देखिएको छ। विशेषगरी नयाँ व्यवसाय संकलनमा प्रतिस्पर्धा बढेसँगै अभिकर्ता प्रोत्साहनमा बीमकहरूले उल्लेख्य रकम खर्च गरिरहेका छन्।

सम्बन्धित समाचार