free website hit counter

अभिकर्ताले पाए ११ अर्ब ४ करोड कमिशन

beemaadmin
२०८३ जेष्ठ ४, सोमबार

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म १४ वटा जीवन बीमा कम्पनीहरूले अभिकर्तामार्फत व्यवसाय विस्तार गर्दा कमिसन खर्च उल्लेखनीय रूपमा बढाएका छन्। सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीहरूको कुल अभिकर्ता कमिसन खर्च १२.०४ प्रतिशतले बढेर ११ अर्ब ४ करोड ५४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो खर्च ९ अर्ब ८५ करोड ८३ लाख रुपैयाँ थियो।

सबैभन्दा धेरै अभिकर्ता कमिसन खर्च गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले तेस्रो त्रैमाससम्म २ अर्ब ७३ करोड ६६ लाख रुपैयाँ कमिसनबापत खर्च गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीको यस्तो खर्च २ अर्ब ४१ करोड १६ लाख रुपैयाँ रहेको थियो।

नेपाल लाइफपछि नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ६२ करोड २५ लाख रुपैयाँ अभिकर्ता कमिसन खर्च गरेको छ। त्यस्तै एलआईसी नेपालले १ अर्ब ७ करोड २४ लाख रुपैयाँ तथा हिमालयन लाइफले १ अर्ब ४ करोड ३० लाख रुपैयाँ कमिसन वितरण गरेका छन्।

अन्य कम्पनीमध्ये सूर्यज्योति लाइफले ७४ करोड रुपैयाँ, एशियन लाइफले ५९ करोड ७० लाख रुपैयाँ, सिटिजन लाइफले ५६ करोड २६ लाख रुपैयाँ तथा सानिमा रिलायन्स लाइफले ५४ करोड १० लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेका छन्।

यसैगरी आइएमई लाइफको कमिसन खर्च ४३ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने रिलायबल नेपाल लाइफले ४२ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ। मेट लाइफले ४१ करोड ४८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३९ करोड ६३ लाख रुपैयाँ तथा सन नेपाल लाइफले ३१ करोड ६७ लाख रुपैयाँ अभिकर्तालाई कमिसन दिएका छन्।

राष्ट्रिय जीवन बीमा कम्पनीको अभिकर्ता कमिसन खर्च भने सबैभन्दा कम १४ करोड ३३ लाख रुपैयाँ रहेको छ।

वृद्धिदरका आधारमा हेर्दा आइएमई लाइफको अभिकर्ता कमिसन खर्च सबैभन्दा धेरै २९.९० प्रतिशतले बढेको छ। त्यसपछि रिलायबल नेपाल लाइफको १७.६१ प्रतिशत, सिटिजन लाइफको १७.४८ प्रतिशत तथा सानिमा रिलायन्स लाइफको १५.४१ प्रतिशतले वृद्धि भएको देखिएको छ।

सबैभन्दा न्यून वृद्धि राष्ट्रिय जीवन बीमा कम्पनीको रहेको छ, जसको कमिसन खर्च केवल २.०८ प्रतिशतले बढेको छ।

बीमा व्यवसाय विस्तारसँगै अभिकर्तामार्फत नयाँ व्यवसाय भित्र्याउने प्रतिस्पर्धा तीव्र बन्दै जाँदा जीवन बीमा कम्पनीहरूको कमिसन खर्च पनि निरन्तर बढिरहेको देखिन्छ।

सम्बन्धित समाचार