free website hit counter

अभिकर्ताले सामाजिक सञ्जालमा जथाभावी प्रचार गर्न नपाउने

beemaadmin
२०८३ भाद्र ५, शुक्रबार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्तालाई सामाजिक सञ्जालमार्फत बीमा व्यवसाय प्रवर्द्धन गर्दा मनलाग्दी सूचना, कम्पनीको लोगो तथा बीमा योजनाको गलत व्याख्या नगर्न निर्देशन दिएको छ।

कम्पनीमा आबद्ध केही अभिकर्ताले सामाजिक सञ्जालमा कम्पनीको नाम, लोगो तथा बीमा योजनाको अनधिकृत प्रयोग गर्नुका साथै बीमा योजनासम्बन्धी सूचनाको गलत व्याख्या गर्ने गरेको पाइएपछि कम्पनीले सामाजिक सञ्जाल आचारसंहिता जारी गरेको जनाएको छ।

कम्पनीका अनुसार यस्ता गतिविधि प्रचलित कानुन, नेपाल बीमा प्राधिकरणबाट जारी ऐन, नियमावली तथा निर्देशिका र कम्पनीको नियम एवं प्रतिष्ठाविपरीत हुन सक्ने भएकाले प्रदेश तथा शाखा कार्यालयअन्तर्गतका सबै अभिकर्तालाई तोकिएका गतिविधि नगर्न निर्देशन दिइएको हो।

के–के गर्न पाइने छैन ?

नेशनल लाइफले अभिकर्तालाई सामाजिक सञ्जालमा निम्न गतिविधि नगर्न भनेको छ :

  • कम्पनीको आधिकारिक सामाजिक सञ्जाल एकाउन्ट तोडमोड गरी प्रयोग गर्न नपाइने।
  • कम्पनीको नाम, लोगो तथा बीमा योजनालाई आफूखुसी प्रयोग गर्न नपाइने।
  • कम्पनीले प्रदान नगरेका तथा कानुनमा व्यवस्था नभएका ‘इन्स्योरेन्स एड्भाइजर’, ‘फाइनान्सियल कन्सल्ट्यान्ट’, ‘वेल्थ एड्भाइजर’ लगायतका पद प्रयोग गर्न नपाइने।
  • बीमा योजनाका सर्तहरू प्रकाशित गर्दा कम्पनीका आधिकारिक सर्त मात्र उल्लेख गर्नुपर्ने।
  • बीमा योजनामा ब्याज प्राप्त हुने वा एकल योजनालाई ‘फिक्स्ड डिपोजिट बीमा योजना’ भन्दै प्रचार गर्न नपाइने।
  • मृत्यु दाबी, परिपक्वता दाबी, समर्पण मूल्य तथा चुक्ता मूल्यजस्ता भुक्तानी रकम आफूखुसी सार्वजनिक गर्न नपाइने।
  • बीमित वा हकवालाको फोटो, चेक हस्तान्तरणको फोटो वा नामसहित दाबी भुक्तानीको प्रचार गर्न नपाइने।
  • कम्पनीको बोनसदर सर्वाधिक रहेको जस्ता दाबी वा भाष्य प्रयोग गरी प्रचार गर्न नपाइने।
  • कम्पनीको नाममा अभिकर्ताले आफैँ बीमाशुल्क वा अन्य भुक्तानी लिन नपाइने।
  • ग्राहकको फोटो, नाम, ठेगाना लगायत व्यक्तिगत विवरण सम्बन्धित व्यक्तिको सहमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्न नपाइने।

कम्पनीले अभिकर्तालाई कानुन तथा निर्धारित आचारसंहिताविपरीतका गतिविधि नगर्न चेतावनी दिँदै त्यस्तो कार्य भएमा नियमानुसार हुने कारबाहीको जिम्मेवारी सम्बन्धित अभिकर्ता स्वयंले लिनुपर्ने स्पष्ट पारेको छ।

यो व्यवस्थाले सामाजिक सञ्जालमार्फत हुने भ्रामक बीमा प्रचार, गलत सूचना र ग्राहकको व्यक्तिगत विवरणको अनधिकृत प्रयोगलाई नियन्त्रण गर्ने कम्पनीको प्रयासका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार