अमेरिकाले आफ्नो अध्यागमन प्रणालीमा रहेका कानुनी छिद्र बन्द गर्ने उद्देश्यले अहिलेसम्मकै ठूलो स्तरमा भिसा रद्द गर्ने तयारी गरेको छ। पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि अमेरिका प्रवेश गरेपछि शरणको आवेदन दिएका करिब दुई लाख विदेशी नागरिकको भिसा रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो।
अमेरिकी विदेश विभागले आगामी केही साताभित्र बी–१ र बी–२ भिसावाहकमाथि यस्तो कारबाही अघि बढाउन सक्ने बताइएको छ। निर्णय कार्यान्वयनमा आएमा अमेरिकी इतिहासमै एकैपटक ठूलो संख्यामा भिसा रद्द गरिएको यो पहिलो घटना बन्न सक्नेछ।
प्रस्तावित कारबाही विशेषगरी सन् २०१६ देखि २०२६ बीच जारी गरिएका भिसावाहकमा केन्द्रित हुने बताइएको छ। छोटो समयका लागि पर्यटक वा व्यवसायीका रूपमा अमेरिका प्रवेश गरेपछि स्थायी बसोबासको उद्देश्यले शरण मागेका व्यक्तिहरूलाई यस प्रक्रियामा समेटिने सम्भावना छ।
अमेरिकी विदेश विभागका प्रवक्ता टमी पिगोटले पर्यटक वा व्यवसायिक प्रयोजनका लागि प्रवेश अनुमति लिएका व्यक्तिले पछि शरणको आवेदन दिएर भिसाका सर्त उल्लंघन गरेको बताएका छन्।
भिसा रद्द हुँदैमा सम्बन्धित व्यक्तिलाई तत्काल अमेरिकाबाट देश निकाला गरिने भन्ने हुँदैन। तर, उनीहरूको अमेरिकी अध्यागमनसम्बन्धी कानुनी अवस्थामाथि भने गम्भीर असर पर्न सक्छ।
अधिकारीहरूका अनुसार अदालतमा शरणसम्बन्धी मुद्दा विचाराधीन रहेका व्यक्तिको बी–१ वा बी–२ हैसियत समाप्त हुन सक्छ। साथै, भविष्यमा अन्य प्रकारका अमेरिकी भिसा वा अध्यागमन सुविधा प्राप्त गर्न उनीहरूलाई थप कठिनाइ हुन सक्नेछ।
भिसा रद्द गर्ने प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइने भएकाले प्रभावित हुने विदेशी नागरिकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकी प्रशासनले अध्यागमनसम्बन्धी नियम कार्यान्वयनमा थप कडाइ गर्दै आएको छ।
अमेरिकी उप–विदेशमन्त्री क्रिस्टोफर लान्डोले अध्यागमन कानुन छल्नका लागि शरण प्रणालीलाई माध्यम बनाउन नहुने बताएका छन्। प्रशासनले वैध प्रयोजनका लागि दिइएको भिसाको दुरुपयोग रोक्ने नीतिअन्तर्गत पछिल्लो कदम अघि बढाएको जनाएको छ।