काठमाडौं । अरुण काबेली पावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सोही प्रस्ताव पारित गर्न १५औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको सभा आगामी असोज ३ गते होटल क्रिष्टल पशुपति, पिंगलास्थान, गौशालामा बिहान ११ बजे बस्नेछ । सभाले हाल कायम चुक्ता पुँजीको १ः ०.५० को अनुपातमा (१० कित्ताबराबर नयाँ ५ कित्ता) हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले कम्पनीका संस्थापक शेयरमा गरिएको लगानी अनुमोदन गर्नुका साथै थप लगानी गर्न स्वीकृति प्रदान गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ । सञ्चालक समितिको वार्षिक प्रतिवेदनसहित लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्ताव पनि सभामा पेश हुनेछन् । सभा प्रयोजनार्थ कम्पनीले भदौ २५ गते १ दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ भदौ २४ गतेसम्म नेप्सेमा कायम रहने शेयरधनीले हकप्रदमा आवेदन दिनुका साथै सभामा पनि उपस्थित हुन पाउनेछन् ।