काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालनको नौ वर्ष पूरा गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दशौं वर्षमा प्रवेश गरेको छ। २०७४ साल भदौ १ गतेदेखि औपचारिक रूपमा जीवन बीमा व्यवसाय सुरु गरेको कम्पनीले नौ वर्षको यात्रामा व्यवसाय विस्तारसँगै आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार नाफाका आधारमा देशका जीवन बीमा कम्पनीहरूमध्ये अग्रस्थान हासिल गरेको जनाएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष आइएमई लाइफले ५८ करोड ४२ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम १४ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी हो। सो अवधिमा १४ जीवन बीमा कम्पनीको कुल खुद नाफा करिब ५ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा समग्र जीवन बीमा क्षेत्रको नाफा १० प्रतिशतभन्दा बढीले घटेको अवस्थामा आइएमई लाइफले भने आफ्नो नाफालाई करिब स्थिर राख्दै अग्रस्थान कायम गर्न सफल भएको हो।
कम्पनीको वित्तीय विवरणअनुसार नाफासँगै व्यवसाय विस्तारको गति पनि उल्लेखनीय देखिएको छ। कम्पनीको खुद बीमाशुल्क संकलन अघिल्लो आर्थिक वर्षको ५ अर्ब ४९ करोड ४९ लाख रुपैयाँबाट बढेर गत आर्थिक वर्षमा ७ अर्ब ४६ करोड ३० लाख रुपैयाँ पुगेको छ। यो करिब ३५.८२ प्रतिशतको वृद्धि हो।
त्यस्तै, कुल बीमाशुल्क संकलन ५ अर्ब ६५ करोड २५ लाख रुपैयाँबाट बढेर ७ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ पुगेको छ।
नयाँ व्यवसायतर्फ पनि कम्पनीले उल्लेखनीय वृद्धि गरेको छ। एकल बीमाशुल्कसहितको प्रथम वर्षको बीमाशुल्क ३ अर्ब ५ करोड ७० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो बीमाशुल्क १ अर्ब ९६ करोड ९७ लाख रुपैयाँ थियो। यस आधारमा प्रथम वर्षको बीमाशुल्क करिब ५५ प्रतिशतले बढेको छ।
नवीकरण बीमाशुल्कसमेत ३ अर्ब ६८ करोड २८ लाख रुपैयाँबाट बढेर ४ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ पुगेको छ।
व्यवसाय विस्तारसँगै कम्पनीको सक्रिय बीमालेख संख्या पनि बढेको छ। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कम्पनीका ५ लाख १८ हजार ९३ वटा बीमालेख चालु अवस्थामा थिए। अघिल्लो वर्ष यस्तो संख्या ४ लाख ७४ हजार २५५ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीले २ लाख ६४ हजार ५४९ वटा नयाँ बीमालेख जारी गरेको जनाएको छ।
दीर्घकालीन वित्तीय आधारका रूपमा रहेको जीवन बीमा कोष पनि एक वर्षमा करिब ३९ प्रतिशतले वृद्धि भएर १८ अर्ब २७ करोड ४२ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको कुल लगानी १७ अर्ब ६६ करोड ६४ लाख रुपैयाँबाट बढेर २३ अर्ब २८ करोड ७७ लाख रुपैयाँ पुगेको छ। कुल सम्पत्ति २६ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।
बैंकिङ प्रणालीमा ब्याजदर घटेका कारण लगानी आम्दानीमा दबाब रहेको अवस्थामा पनि कम्पनीले लगानी तथा कर्जाबाट १ अर्ब ३८ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ।
यद्यपि, व्यवसाय विस्तारसँगै कम्पनीको खर्च तथा दाबी भुक्तानीमा समेत वृद्धि भएको छ। गत आर्थिक वर्ष कम्पनीले बीमितलाई कुल १ अर्ब ४६ करोड ५९ लाख रुपैयाँ दाबी तथा लाभ भुक्तानी गरेको जनाएको छ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा. रामहरि अर्याल रहेका छन्। सञ्चालक समितिमा उषा ढकाल, बिनोद के.सी., सिताराम थापा, संदीप अग्रवाल र सुनील कुमार पोखरेल रहेका छन्।
कम्पनीको व्यवस्थापनको नेतृत्व प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गरिरहेका छन्। त्यस्तै, डेपुटी प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल तथा अण्डरराइटिङ प्रमुखमा सुदीप राणालगायतको व्यवस्थापन टोली रहेको छ।
कम्पनीले आफ्नो नवौं वार्षिकोत्सवका अवसरमा विगतमा जस्तै विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। देशभरका शाखा कार्यालयमार्फत विभिन्न सामाजिक तथा परोपकारी कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको हो।
यसअघि पनि कम्पनीले वार्षिकोत्सवका अवसरमा रक्तदान, स्वास्थ्य शिविर तथा बीमा सम्बन्धी जनचेतनामूलक प्रभातफेरीलगायत कार्यक्रम सञ्चालन गर्दै आएको थियो।
२०७४ साल भदौ १ गतेदेखि सुरु भएको यात्राको नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गर्दा आइएमई लाइफले आफूलाई व्यवसाय विस्तारसँगै वित्तीय प्रदर्शनमा समेत प्रतिस्पर्धी जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै गएको जनाएको छ।
नवौं वार्षिकोत्सवको अवसरमा कम्पनीले आगामी दिनमा बीमित तथा लगानीकर्तालाई अझ उच्च प्रतिफल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।