free website hit counter

आइजीआई प्रुडेन्सियलद्वारा कालिकोटका विपद् प्रभावित परिवारलाई राहत सहयोग

beemaadmin
२०८३ जेष्ठ ३१, आईतवार

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशका प्राकृतिक विपद्बाट विस्थापित परिवारलाई राहत सहयोग प्रदान गरेको छ।

कालिकोट जिल्लामा २०८२ साल असोज १८ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका तथा तिलागुफा नगरपालिकाका विभिन्न वडामा ठूलो क्षति पुगेको थियो। साथै केही स्थानमा आगलागीका घटनाबाट समेत प्रभावित परिवारहरू विस्थापित भएका थिए।

Advertisement
Advertisement

कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रको अनुरोधमा कम्पनीले प्रभावित ५७ परिवारलाई सहयोग स्वरूप रु. १ लाख बराबरका ३२ थान सिरक उपलब्ध गराएको हो।

Advertisement
Advertisement

कम्पनीको केन्द्रीय कार्यालय पानीपोखरी, काठमाडौंमा आयोजित कार्यक्रममा आइजीआई प्रुडेन्सियलका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई उक्त राहत सामग्री हस्तान्तरण गरे।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले प्राकृतिक विपद्बाट प्रभावित परिवारको सहयोगमा सहकार्य गरेकोमा संरक्षण केन्द्रप्रति धन्यवाद व्यक्त गरे। उनले पीडितहरूको शीघ्र पुनःस्थापनाको कामना गर्दै कम्पनीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

त्यस अवसरमा संरक्षण केन्द्रका अध्यक्ष शाहीले विपद् प्रभावित परिवारको राहतका लागि गरिएको सहयोगको प्रशंसा गर्दै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडप्रति आभार व्यक्त गरे।

यस सहयोगले विपद्का कारण कठिन परिस्थितिमा रहेका परिवारहरूको दैनिक जीवन सहज बनाउन केही राहत पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार