काठमाडौं । हिन्दु धार्मिक मान्यता अनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हिन्दु धर्ममा आस्था राख्ने नारीहरूले श्रीस्वस्थानीको एक महिना लामो व्रत बस्ने गर्दछन् । तिथिका आधारमा मनाइने हुनाले प्रत्यक वर्ष यो पर्व फरक–फरक मितिमा पर्ने गर्छ । २०८१ साल पौष महिनाको २९ गते सोमबार पौषशुक्ल पूर्णिमाबाट आरम्भ भई माघ ३० गते पूर्णिमाकै दिन समापन गरिन्छ । यस अवधिभर श्रीस्वस्थानी व्रत गर्नाले वा कथा सुन्नाले सत्यको बाटोमा निरन्तर अगाडी बढ्ने प्रेरणा मिल्नुको साथै धर्मको पालन र भक्ति मार्गमा मनलाई लैजान सकिन्छ । व्रतको बिचमा मासिक धर्म अर्थात् रजस्वला हुँदा स्वास्थानीको नियम सबै पालन गरि ५ दिनबाट पुनः पूजा सुरु गर्नु पर्दछ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले श्रीमहादेव पति पाऊँ भनी श्री स्वास्थानी माताको व्रत गरिएको भए पनि हिजोआज हिन्दु धर्ममा आस्था राख्ने विवाहित तथा अविवाहित महिलाहरूले दीर्घायु, सुस्वास्थ्य, परिवारको प्रगति, आफ्नो घरमा सुख शान्ति कायम होस् तथा आफ्नो मनोकामना, पढाइ, स्वास्थ्य, विदेश यात्रा तथा राम्रो नोकरीको अभिलाषा राख्दै व्रत बस्ने गरेको पाइन्छ ।
मार्कण्डेय पुराणको हिवमत खण्डमा वर्णन गरिए अनुसार व्रत सुरु हुनु भन्दा एक दिन अगाडी हात गोडाका नङ काटी पवित्र भई एक छाक मात्र भोजन गरी बस्नुपर्छ । भोलिपल्ट पौष शुक्ल पूर्णिमाका दिन पवित्र खोला तथा तलाउमा नुहाएर आई पूजा स्थलमा बसी शुद्ध जलले अभिषेक गरी एक महिनालाई पुग्ने पूजा सामाग्री जस्तै तिल, जौ, कुश, अबिर, बाती, जनै, सुपारी तयार पारि आजदेखि म एक महिना श्रीस्वस्थानी परमेश्वरको व्रत आरम्भ गर्छु भनी दृढ प्रतिज्ञा वा सङ्कल्प गरी व्रत आरम्भ गर्नुपर्छ । व्रत अवधिभर प्रत्येक दिन बिहान सूर्योदय भन्दा अगाडी नै स्नान गर्नुपर्दछ । पूजाका लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिव लिङ्ग बनाई स्थापना गर्नु र अक्षता, बेलीपुष्प, यज्ञसूत्र, तिल, जौ, पान, सुपारी, बाती र फलफूल चढाइ पूजा गर्नुपर्छ । एक महिनाको अवधिभर झैझगडा, दुर्वाच्य बोल्नु तथा नराम्रो कुरा सोच्नु हुँदैन । प्रत्येक दिन उठी नित्य कर्म गरी भगवतीले मलाई शक्ति प्रदान गर्नुहोस्, चिताएका इच्छाहरू परिपूर्ण हुन भनी श्रीस्वस्थानी परमेश्वरीको पूजा गर्ने तथा मध्यान्ह भएपछि कथा सुन्ने सुनाउने गर्नुपर्दछ ।
महिना दिनसम्म दीप, कलश, गणेश आदिको वैदिक मन्त्रोउच्चारण गर्नुपर्दछ । विधिपूर्वक आफैले वा ब्राह्मणद्वारा पूजा गराई आफ्नो नाम र गोत्र सम्झेर मन, वचन र कर्मले जानी नजानी गरेको सम्पूर्ण पाप नाश होस् भनी कामना गर्नुपर्दछ । यस लोकमा सुख सम्पत्ति र मृत्यु उप्रान्त स्वर्गमा बास होस् भन्ने कामनाले यथाशक्ति श्रीस्वस्थानी परमेश्वरीलाई पूजा गरेँ अब मेरो मनोकामना पूरा होस भनी अर्घ दिनु र श्रीस्वस्थानी परमेश्वरलाई मनले सम्झनु पर्दछ । माघ शुक्ल पूर्णिमाका दिन १०८ रोटी, १०८ अक्षता, १०८ यज्ञसूत्र, १०८ बेलीपुष्प, १०८ पान, १०८ कुड्का सुपारी, जौँ, तिल, फलफूल आदि सबै १०८ सगुनसमेत नाना उपचार तयार पारेर आर्सीमा ॐकार लेखी गङ्गाजलले स्नान गराई, श्रीखण्ड, रक्तचन्दन, अबिर, पुष्पमाला चढाई धूपदीप नैवैध, वस्त्र, भेटी अर्पण गर्नुपर्दछ । पूजा सकेर अर्घ अनि प्रसाद झिकेर अष्टोतरमा सयमा आठरोटी, आठ अक्षता, आठ पुष्प, आठपान, आठ कुड्का सुपारी सगुनसमेत आफ्नो पतिलाई दिनु, पति नभए छोरोलाई दिनु, छोरो पनि नभए मित छोरालाई दिनु, मित छोरा पनि नभए आफूले जुन मनोकामनाले व्रत गरेको हो त्यो पूरा होस भनो खोलामा बगाइदिनु । सय रोटी आफूले फलाहार गर्नु रात्रिमा जाग्राम बस्नुपर्दछ भनी शास्त्रमा वर्णन गरिएको छ । स्वस्थानी व्रत सर्वप्रथम हिमालय पर्वतकी छोरी पार्वतीले श्रीमहादेव स्वामी पाऊँ भनी लिएकी थिइन् । व्रतका प्रभावले उनको मनोकामना पूरा भयो । त्यसपछि पार्वतीले अश्वस्थामा सप्तऋषिलाई बोलाएर हे ऋषिवर पाताल लोकमा गएर को दुःखी छन् तिनीहरूलाई पनि श्रीस्वस्थानी व्रत कथा विधिपूर्वक गर भनी आज्ञा गर्नुभयो । ऋषिमुनिहरू पनि सप्त पातालको मूल रसातलामा पुगी दुःख पाएका नागिनीहरूलाई श्रीस्वास्थानी व्रत लिँदा आफ्नो मनोकामना पूरा हुने भन्दै सबै विधि बताएर फिर्ता भए । तिनै ऋषिहरूले बताएअनुसार दुःख पाएका नागिनीहरूले श्रीस्वस्थानीको व्रत लिए । त्यस व्रतका प्रभावले तिनीहरूका वर्षौँदेखि हराइरहेका नाग घर आइपुगे । सबै प्रकारले सुख भोग गरी पातालमा रहँदा भए भन्ने उल्लेख गरिएको छ । गोपिनीहरू पछि गोमा ब्रह्माणीले श्रीस्वास्थानी व्रत लिएको कथामा वर्णन गरिएको छ । महादेवको श्रापपछि गोमाको सत्तरी वर्षका शिवशर्मा ब्राह्मणसँग विवाह भएको र भिक्षा माग्न गएका शिवशर्माको बाटैमा निधन भएपछि छोरा नवराज बाबुको खोजखबर गर्न घरबाट हिँडे । लामो समयसम्म नआएपछि गोमाले स्वस्थानी व्रतकथा लिएको र व्रत सकिएकै दिन नवराज घरमा आएको र त्यसको केही समय पछि लावण्य देशमा राजा भएको कथामा उल्लेख गरिएको छ ।
नवराज लावण्य देशमा राजा भएपछि आफ्नी माइत गएकी पत्नीलाई लिन डोलेहरूलाई पठाए । डोलेहरूले चन्द्रवतीलाई लिएर फर्कंदै गर्दा डोलेहरूले भने हे महारानी हामीलाई भोक लाग्यो भनी अप्सराहरूले श्रीस्वस्थानी माताको व्रत गरिरहेको ठाउँमा पुगेर प्रसाद ग्रहण गरी चन्द्रावती रानीलाई पनि प्रसाद ल्याइदिँदा प्रसाद तथा श्रीस्वस्थानी परमेश्वरीको निन्दा गरेको हुनाले लावण्य देशको नजिक शाली नदी आधा पार गर्ने बित्तिकै अकस्मात् चाँदनी टागेझैँ मेघ उठेर मुसलधारे पानी पर्यो र चन्द्रावती लडेर खोलामा पसिन् । त्यसपछि राजाको निमन्त्रणलाई स्विकार्दै लावन्य देश हिँडेका दुई ब्राह्मणहरूले श्रीस्वस्थानी परमेश्वरीको व्रत विधि बताएँ । चन्दावतीले पनि पौषशुक्ल पूर्णिमाबाट नै विधिपूर्वक श्रीस्वस्थानी माताको व्रत लिई पहिले जस्तै भई स्वस्थ भई लावण्य देश गएको र रानी भएको कथामा उल्लेख छ । काठमाडौँको उत्तर–पूर्वमा पर्ने शाली नदीमा माधवनारायणको एक महिनासम्म मेला लाग्ने गर्छ । यो क्षेत्रमा स्नानका लागि विभिन्न ठाउँबाट लाखौँ भक्तजन आउने गर्दछन् । माघ महिनामा त्यहाँ गएर स्नान गरेमा पाप पखालिई पुण्य मिल्ने धार्मिक विश्वास छ । श्रीस्वस्थानी व्रत कथा धार्मिक अनुष्ठान मात्र होइन, यसले उद्देश्य प्राप्तिको लागी सत्य मार्गमा हिँड्न कर्तव्य बोध गराउँदछ । वर्षभरि गरिने असभ्य चालचलन र व्यवहारलाई परिमार्जन गर्दै इमानदार र स्वच्छ भएर निरन्तर यात्रा गर्नुपर्छ भन्ने कुराको ज्ञान प्राप्त हुन्छ ।