free website hit counter

आयल निगमको निमित्त कार्यकारी निर्देशकमा साह

beemaadmin
२०८३ जेष्ठ ६, बुधबार

काठमाडौं । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका सबैभन्दा वरिष्ठ कर्मचारीका रूपमा रहेका साहलाई उक्त जिम्मेवारी सुम्पिएको हो ।

यसअघि निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले नयाँ सरकारको प्राथमिकताअनुसार गत वैशाख ३० गते पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि करिब एक सातापछि मन्त्रालयले वरिष्ठताका आधारमा साहलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।

हाल नायब कार्यकारी निर्देशक पदमा कार्यरत साहले निगमको अर्थ तथा कर्मचारी प्रशासन विभागको नेतृत्व गर्दै आएका थिए । निगमभित्र वित्तीय व्यवस्थापन र प्रशासनिक अनुभवका आधारमा उनी नेतृत्वका लागि उपयुक्त पात्रका रूपमा हेरिएका छन् ।

निगमका अनुसार साहले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्न लागेको यो दोस्रो अवसर हो । यसअघि २०८० मंसिर २६ गते तत्कालीन कार्यकारी निर्देशक उमेश थानीले राजीनामा दिएपछि पनि उनले दुई महिनाभन्दा बढी समय निगमको नेतृत्व गरेका थिए ।

चार्टर्ड एकाउन्टेन्ट (सीए) रहेका साह निगमको वित्तीय पारदर्शिता तथा लेखा प्रणाली सुधारमा सक्रिय भूमिका खेलेका कर्मचारीका रूपमा परिचित छन् । उनी निगममा आएपछि वित्तीय विवरणहरूको नियमित लेखा परीक्षण हुने अभ्यास सुरु भएको बताइन्छ ।

मन्त्रालयले वरिष्ठता, अनुभव र व्यावसायिक दक्षतालाई आधार मानेर साहलाई निगमको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको जनाएको छ ।

सम्बन्धित समाचार