free website hit counter

इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी फुटबल खेलाडीको मृत्यु

beemaadmin
२०८३ कार्तिक २७, बिहीबार

काठमाडौं । गाजापट्टीमा इजरायलले गरेको हवाई आक्रमणमा प्यालेस्टिनी राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी मोहम्मद बराकतको मृत्यु भएको छ ।

प्यालेस्टिनी फुटबल संघका अनुसार ३९ वर्षीय बराकत दक्षिणी गाजाको खान युनिसस्थित एक आवासीय भवनमा गरिएको हवाई आक्रमणमा मारिएका हुन् । गत सोमबार भएको उक्त आक्रमणमा उनको मृत्यु भएको संघले जनाएको छ ।

Advertisement
Advertisement

फुटबल क्षेत्रमा ‘द लायन’ अर्थात् सिंहको उपनामले परिचित बराकत प्यालेस्टाइनका चर्चित स्ट्राइकरमध्ये एक थिए । उनले प्यालेस्टिनी राष्ट्रिय टोलीका साथै गाजा, जोर्डन र साउदी अरेबियाका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए ।

Advertisement
Advertisement

सन् २०१५ मा शबाब खान युनिसबाट व्यावसायिक फुटबल करियर सुरु गरेका बराकत गाजामा एउटै क्लबबाट १०० गोल गर्ने पहिलो खेलाडी बनेका थिए । खान युनिस युथ क्लबका कप्तानसमेत रहेका उनले जोर्डनको अल-विहदात र साउदी अरेबियाको अल-शोआला क्लबबाट पनि खेलेका थिए ।

प्यालेस्टिनी फुटबल संघका अनुसार इजरायल र हमासबीच युद्ध सुरु भएयता इजरायली आक्रमणमा परी १५८ जना खेलाडीको मृत्यु भइसकेको छ । मृतकमध्ये ९१ जना विभिन्न तहका फुटबल खेलाडी रहेका छन् ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो । त्यसयता गाजामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।

सम्बन्धित समाचार