विराटनगर । आफ्नो विवाहको इन्गेजमेन्टकै दिन गृहमन्त्री सुधन गुरुङ अचानक विराटनगर पुगेका छन्। शुक्रबार साँझ करिब ७ बजे विराटनगर विमानस्थलमा अवतरण गरेका उनी राति अबेरसम्म स्कुटर चढेर सीमावर्ती क्षेत्रको निरीक्षणमा सक्रिय भएका थिए।
प्रहरी स्रोतका अनुसार गृहमन्त्री गुरुङ शुक्रबार राति साढे ८ बजेदेखि मध्यरातसम्म स्कुटरमा विभिन्न सीमावर्ती क्षेत्रमा पुगेका थिए। उनले आफ्ना सुरक्षाकर्मीलाई मात्र साथमा लिएर निरीक्षण गरेका थिए। उनको भ्रमणबारे स्थानीय प्रशासनका अधिकारीहरूलाई पूर्वजानकारीसमेत थिएन।
शनिबार उनको जिल्ला प्रशासन कार्यालय र मोरङ कारागार निरीक्षण गर्ने कार्यक्रम रहेको छ। गृहमन्त्री आउने जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयका कर्मचारी तथा अधिकारीहरू बिहानैदेखि उनको प्रतीक्षामा बसेका थिए।
जिल्ला प्रशासन कार्यालयका एक अधिकारीका अनुसार गृहमन्त्रीले भ्रमणको निश्चित समय र कार्यक्रमबारे मातहतका निकायलाई जानकारी दिएका थिएनन्। ‘आफ्ना गार्डलाई मात्र लिएर राति साढे ८ देखि मध्यरातसम्म स्कुटीमा घुम्नुभयो। कहाँ जानुभयो भन्ने हामीले बुझ्न सकेनौँ,’ ती अधिकारीले बताए।
उनका अनुसार गृहमन्त्रीको कार्यक्रमबारे प्रशासनलाई स्पष्ट जानकारी नहुँदा उनी कहाँ र कतिबेला आउने भन्ने अन्योल रहेको थियो।
प्रहरी स्रोतका अनुसार गृहमन्त्री गुरुङ शनिबार दिनभर मोरङका विभिन्न स्थानमा सक्रिय रहनेछन्। त्यसपछि आइतबार सुनसरी जाने र सम्भवतः त्यसपछि काठमाडौं फर्कने कार्यक्रम छ। यद्यपि उनको भ्रमण तालिका निश्चित भइसकेको छैन।
गृहमन्त्रीको विराटनगर भ्रमणको एउटा प्रमुख कारण सीमावर्ती क्षेत्रमा भइरहेको अवैध कारोबारसमेत रहेको प्रहरी अधिकारीहरूको भनाइ छ।
विराटनगरका चार्टर्ड एकाउन्टेन्ट पीयूष लुनियाँको गाडीमा भारतको सीमावर्ती बजार जोगबनीबाट तस्करी गरी ल्याइएका कस्मेटिक सामग्री फेला परेपछि गृहमन्त्री सीमाक्षेत्रको कारोबारप्रति गम्भीर बनेको एक प्रहरी अधिकारीले बताए।
उक्त गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर विराटनगर भन्सार कार्यालयमा बुझाएको थियो। भन्सार कार्यालयले चालकलाई दुई लाख रुपैयाँ धरौटीमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ। लुनियाँकी श्रीमतीको विराटनगरमा कस्मेटिक पसल रहेको बताइएको छ।
सीमावर्ती क्षेत्रमा हुने अवैध आयात तथा तस्करी नियन्त्रणका विषयमा गृहमन्त्रीको सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ।