free website hit counter

इरानको मिसाइल र ड्रोन आक्रमणपछि खाडी क्षेत्रमा फेरि तनाव चुलियो

beemaadmin
२०८३ असार २८, आईतवार

काठमाडौं । केही समयअघि युद्धविरामको प्रयास भएको पश्चिम एसियामा फेरि सैन्य तनाव चर्किएको छ। इरानले कतार र संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ मिसाइल तथा ड्रोन आक्रमण गरेपछि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ।

विदेशी सञ्चारमाध्यमका अनुसार कतारको राजधानी दोहामा शनिबार राति लगातार विस्फोटका आवाज सुनिएका थिए। कतार र यूएईका हवाई प्रतिरक्षा प्रणालीले इरानबाट प्रहार गरिएका अधिकांश मिसाइल र ड्रोनलाई आकाशमै निष्क्रिय पारेको जनाइएको छ।

इरानले अमेरिकी सैन्य गतिविधि तथा पछिल्ला हवाई आक्रमणको प्रतिकारस्वरूप खाडी क्षेत्रमा रहेका अमेरिकी स्वार्थ र सैन्य उपस्थितिलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ। साथै, तेहरानले रणनीतिक महत्वको हर्मुज जलमार्ग अझै बन्द रहने दोहोर्‍याउँदै अमेरिकी हस्तक्षेप जारी रहेसम्म आफ्नो कदम नरोकिने चेतावनी दिएको छ।

कतार र यूएईका अधिकारीहरूले भने आफ्ना हवाई सुरक्षा प्रणाली प्रभावकारी रूपमा परिचालन गरिएको र अधिकांश आक्रमण विफल पारिएको बताएका छन्। घटनापछि दुवै देशले सुरक्षा सतर्कता बढाउँदै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

यस घटनाले केही समयअघि भएको युद्धविराम प्रभावहीन बन्दै गएको संकेत गरेको विश्लेषण गरिएको छ। अमेरिका र इरानबीच पछिल्ला दिनमा आक्रमण र प्रतिआक्रमणको श्रृंखला जारी रहेकाले खाडी क्षेत्र पुनः द्वन्द्वको जोखिमतर्फ उन्मुख भएको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ।

क्षेत्रीय तनाव बढेसँगै विश्व ऊर्जा बजारमा समेत असर पर्ने चिन्ता व्यक्त गरिएको छ। विश्वको ठूलो परिमाणमा कच्चा तेल ओसारपसार हुने हर्मुज जलमार्ग अवरुद्ध रहँदा अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला र तेल बजारमा थप दबाब पर्न सक्ने आकलन गरिएको छ।

सम्बन्धित समाचार