free website hit counter

इरानमा रहेका नेपालीलाई तत्काल देश छाड्न सरकारको आग्रह

beemaadmin
२०८२ माघ १८, आईतवार

काठमाडौं । इरानमा विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै नेपाल सरकारले आफ्ना नागरिकहरूलाई इरान भ्रमणमा नजान र त्यहाँ रहेका नेपालीलाई तत्काल देश छाड्न भनेको छ। परराष्ट्र मन्त्रालयले आइतबार एक ट्राभल एडभाइजरी जारी गर्दै यस्तो आग्रह गरेको हो। मन्त्रालयले इरानको पछिल्लो स्थिति सामान्य नभएसम्मका लागि त्यहाँको भ्रमण योजना स्थगित गर्न नेपाली नागरिकहरूलाई भनेको छ। त्यसै गरी, हाल कामका सिलसिलामा वा अन्य कारणले इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई उपलब्ध भएसम्मका माध्यम प्रयोग गरी छिटोभन्दा छिटो इरान छाड्न मन्त्रालयको सुझाव छ। इरानमा रहेका नेपालीहरूलाई आपत्कालीन अवस्थामा देशबाट बाहिरिन सहज होस् भन्नका लागि आफ्नो राहदानी र परिचयपत्र लगायतका यात्राका कागजातहरू हर समय तयारी अवस्थामा राख्न पनि मन्त्रालयले अनुरोध गरेको छ। परराष्ट्र मन्त्रालयले यसअघि १३ जनवरी २०२६ मा पनि यसै विषयमा सूचना जारी गरेको थियो। इरानको अस्थिर परिस्थितिका कारण आइतबार पुनः अर्को सचेतना सूचना जारी गरिएको हो। इरानमा रहेका नेपालीहरूको समन्वय र सहयोगका लागि परराष्ट्र मन्त्रालय, काठमाडौँ र नेपाली राजदूतावास, दोहा कतारलाई सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार