काठमाडौं । इरान र अमेरिकाबीच पाकिस्तानको राजधानी इस्लामावादमा भएको शान्ति वार्ता प्रयास असफल भएको छ। करिब एक महिनाअघि इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानमाथि आक्रमण सुरु गरेपछि बढेको तनाव कम गर्ने उद्देश्यले उक्त वार्ता आयोजना गरिएको थियो, तर कुनै निष्कर्षमा पुग्न सकेन।
वार्ता विफल भएपछि पश्चिम एसियामा शान्तिको सम्भावना अझै अनिश्चित बनेको छ। जारी द्वन्द्वका कारण विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको छ। विशेषगरी, विश्वको करिब २० प्रतिशत कच्चा तेल आपूर्ति हुने ‘स्ट्रेट अफ हर्मुज’ अवरुद्ध हुँदा तेल र खाना पकाउने ग्यासको मूल्य बढ्दो क्रममा छ।
वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा अमेरिकी टोली र इरानका सभामुख मोहम्मद बाघिर घलिवाफको नेतृत्वमा इरानी टोली सहभागी थिए। करिब १२ घण्टा चलेको छलफल निष्कर्षविहीन बनेपछि दुवै पक्ष आफ्ना देश फर्किएका छन्।
यस अवस्थाले विश्व बजारमा कच्चा तेलको मूल्य पुनः बढ्ने संकेत देखिएको छ। केही दिनअघि युद्धविरामको आशाले प्रति ब्यारेल १०० डलरबाट घटेर ९६ डलरमा झरेको मूल्य फेरि बढेर १०० डलर नाघ्ने जोखिम बढेको छ।
यसको असर नेपालमा पनि देखिन थालेको छ। हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ र डिजेल २०६ रुपैयाँ पुगेको छ। साथै, खाना पकाउने ग्यासको मूल्य पनि प्रति सिलिन्डर २ हजार रुपैयाँभन्दा माथि पुगेको छ।