काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो एक सातामै प्रतितोला १२ हजार ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १६ गते प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य साउन २२ गतेसम्म आइपुग्दा बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको हो।
महासंघका अनुसार साउन १७ र १८ गते सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँमै स्थिर रहेको थियो। साउन १९ गते भने प्रतितोला २०० रुपैयाँ घटेर २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भयो।
त्यसपछि भने सुनको मूल्य लगातार उकालो लागेको हो। साउन २० गते बुधबार एकैदिन प्रतितोला ४ हजार २०० रुपैयाँले बढेर सुन २ लाख ८८ हजार रुपैयाँ पुगेको थियो।
साउन २१ गते बिहीबार सुनको मूल्यमा थप ८ हजार रुपैयाँको वृद्धि भयो। उक्त दिन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य साउन २२ गते शुक्रबार पुनः ९०० रुपैयाँले बढेको हो।
शुक्रबारको वृद्धिसँगै सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यसरी साउन १६ गतेदेखि साउन २२ गतेसम्म एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १२ हजार ९०० रुपैयाँले वृद्धि भएको छ।