काठमाडौँ । नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना तथा लगानी प्रवर्द्धनका लागि एसियाली विकास बैंक (एडीबी)ले आगामी तीन वर्षभित्र करिब २.४ अर्ब अमेरिकी डलर (करिब साढे ३ खर्ब रुपैयाँ) सहयोग उपलब्ध गराउने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटपछि एडीबीका अध्यक्ष मासातो कान्दाले सन् २०२९ सम्म उक्त सहयोग उपलब्ध गराइने जानकारी दिएका हुन्। सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै नेपालको आर्थिक विकास र सुधारका कार्यक्रमप्रति एडीबीको पूर्ण समर्थन रहने बताएका छन्।
कान्दाले नेपालको आर्थिक रूपान्तरण, रोजगारी विस्तार तथा निजी लगानी प्रवर्द्धनका लागि सरकारले अघि सारेका सुधार कार्यक्रमलाई एडीबीले उच्च प्राथमिकतामा राखेर सहयोग गर्ने उल्लेख गरेका छन्। साथै, नेपालका प्रमुख विकास साझेदारमध्ये एकका रूपमा एडीबीले आगामी दिनमा आफ्नो सहयोगलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
उनका अनुसार उक्त सहयोगले सरकारको विकास दृष्टिकोण कार्यान्वयन, आर्थिक वृद्धि, पूर्वाधार विकास तथा नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नेपालसँग करिब ६ दशकदेखि सहकार्य गर्दै आएको एडीबीले यस अवधिमा सुरक्षित विद्यालय निर्माण, स्वच्छ ऊर्जा प्रवर्द्धन, पूर्वाधार विकास तथा रोजगारी र अवसर सिर्जनालगायतका क्षेत्रमा उल्लेखनीय योगदान दिएको कान्दाले स्मरण गरेका छन्।
उनले आगामी दिनमा पनि नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्दै दिगो, समावेशी र परिणाममुखी विकासका लक्ष्य हासिल गर्न एडीबी प्रतिबद्ध रहने बताएका छन्।