काठमाडौं । पहिले पहिले दक्षिणा थपिदिने हजुरबा र हजुरआमाहरु हुनुहुन्थ्यो । तर समय फेरिएको छ । त्यसैले त अब दक्षिणा पनि बैंकमार्फत् दिने र बैंकले नै दक्षिण थपिदिने समय आएको छ । एन आई सी एशिया बैंकले बडा दसैँलाई लक्षित गरेर दक्षिणा प्लस योजना ल्याएको छ ।
यो योजना अन्तर्गत दसैँमा टीका लगाएर यस बैंकको मोबाइल बैंक प्रयोग गरी दक्षिणा रकम ट्रान्सफर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्तिलाई बैंकको तर्फबाट थप रकम प्रदान गरिनेछ । दक्षिणा प्लस नाम दिइएको एस योजना अन्तर्गत मोबाइल बैंकको प्रयोग गरी दक्षिणा दिँदा पाँच जनासम्मलाई दक्षिणा रकमको १० प्रतिशत वा अधिकतम रु १०० बैंकको तर्फबाट थप हुनेछ ।
दक्षिणा प्लस योजना यस बैंकमा आबद्ध ग्राहकलाई मात्र लागू हुनेछ भने यो विशेष उपहार विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म उपलब्ध हुने बैंकले जनाएको छ । यो योजना एन आई सी एशिया बैंकको मो बैंक प्रयोग गरी फण्ड ट्रन्सफर मार्फत् दक्षिणा प्रदान गर्दा मात्र लागू हुने बैंकले जनाएको छ ।
दीर्घकालीन रुपमा नेपाली अर्थतन्त्रलाई नगदरहित बनाई डिजिटल भुक्तानीलाई व्यवस्थित गर्न पनि यस दक्षिणा प्लस अफरले आम जनमानसमा डिजिटल भुक्तानीप्रति सकारात्मक दृष्टिकोण बनाउने अपेक्षा बैंकले राखेको छ ।
बैंकले बडा दसैँको पावन अवसरमा दक्षिणा प्लस बाहेक अन्य विभिन्न छुट अफरहरु पनि ल्याएको छ । भाटभटेनी, सेल्सबेरी, सेलवेज जस्ता डिपार्टमेन्ट स्टोरहरुसँग सहकार्य गरी यस बैंकको कार्ड वा मोबैंकमार्फत् भुक्तानी गर्ने ग्राहक माहानुभावहरुलाई अधिकतम १५ प्रतिशत सम्मको छुट प्रदान गर्दै आएको छ ।