काठमाडौं । एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न मंसिर २५ गते शुक्रबार ३१औँ वार्षिक साधारण सभा बोलाएको छ।
सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। उक्त लाभांशमा कर प्रयोजनार्थ रकमसमेत समावेश छ।
त्यसैगरी, सभाले एनएमबी अविमोच्य असञ्चिति अग्राधिकार शेयरका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। उक्त लाभांशमा करसमेत समावेश रहेको बैंकले जनाएको छ।
सभामा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि छलफल गरी पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।