free website hit counter

एनपीएल सुरक्षामा १ हजार ४ सय सुरक्षाकर्मी परिचालन गरिने

beemaadmin
२०८३ कार्तिक १०, सोमबार

काठमाडौं । सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सुरक्षाका लागि झण्डै १ हजार ४ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिले नेपाल क्रिकेट संघ (क्यान) सँगको समन्वयमा प्रतियोगिताका लागि सुरक्षा योजना तयार पारेको हो ।

प्रतियोगिताको सुरक्षाबारे जिल्ला सुरक्षा समितिको बैठक आइतबार साँझ बसेको थियो । बैठकमा फिल्डमा खटिने टोलीका कमान्डरलाई सहभागी गराएर सुरक्षा व्यवस्थाबारे जानकारी दिइएको थियो । यसअघि पनि क्यानका पदाधिकारीसहित पटकपटक बैठक बसेर सुरक्षा योजना बनाइएको थियो ।

Advertisement
Advertisement

रंगशालाभित्रको व्यवस्थापनमा निजी सुरक्षा कम्पनीलाई मुख्य जिम्मेवारी दिइएको छ । त्यसका लागि करिब ३०० सुरक्षा गार्ड परिचालन गरिनेछ । निजी सुरक्षाकर्मीसँगै नेपाल प्रहरी पनि बर्दी र सादा पोसाकमा खटिनेछ ।

Advertisement
Advertisement

नेपाल प्रहरीले आफ्नो जिम्मेवारीअन्तर्गत २४ प्रकारका ड्युटीमा करिब १ हजार प्रहरी परिचालन गर्ने भएको छ । रंगशालाका सबै प्रवेशद्वारमा जाँचका लागि प्रहरी खटिनेछन् भने भित्रका विभिन्न जोनमा पनि सुरक्षा निगरानी गरिनेछ ।

यसपटक रंगशालाभित्र बर्दी र हतियारसहितका प्रहरी परिचालन गरिने छैन । अन्तर्राष्ट्रिय अभ्यास र क्यानसँगको छलफलका आधारमा भित्र खटिने प्रहरी सादा पोसाक तथा औपचारिक सर्ट–प्यान्टमा रहने व्यवस्था गरिएको हो । यसअघिका संस्करणमा भने रंगशालाभित्र बर्दीमै प्रहरी खटिने गरेका थिए ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार प्रहरीले प्रतियोगितामा २४ प्रकारका जिम्मेवारी सम्हाल्नेछ ।

सीसीटीभी, ड्रोन र डग स्निफिङबाट निगरानी

प्रतियोगिताको सुरक्षाका लागि रंगशालामा सीसीटीभी र ड्रोनबाट निगरानी गरिनेछ । खेल सुरु हुनुअघि डग स्निफिङमार्फत पनि सुरक्षा जाँच गरिने प्रहरीले जनाएको छ ।

खेलाडी तथा टोलीको आवागमन, होटल सुरक्षा, एस्कोर्टिङ र ट्राफिक व्यवस्थापनका लागि छुट्टाछुट्टै टोली परिचालन गरिनेछ । खेलाडीलाई होटलबाट रंगशालासम्म लैजाँदा सुरक्षासहित विशेष ट्राफिक व्यवस्थापन गरिनेछ ।

‘ड्रोनको प्रयोग गर्छौँ । केनाइन (डग स्निफिङ) को काम हुन्छ । रंगशालाको बाहिरी क्षेत्रमा रिजर्भ टोलीको व्यवस्थापन गरिन्छ । सबै टिम बस्ने होटलमा प्रहरी खटिन्छ र बाटोमा एस्कोर्टिङ हुन्छ,’ एसपी थापाले भने, ‘खेलाडी लैजाँदा ट्राफिक व्यवस्थापनका लागि छुट्टै टोली तैनाथ हुन्छ ।’

उनका अनुसार सुरक्षामा खटिने टोलीले मूलपानी र त्रिवि क्रिकेट मैदानमा अभ्याससमेत गरिसकेका छन् ।

काठमाडौं प्रहरी परिसरले उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा प्रहरी प्रधान कार्यालयको निर्देशन र समन्वयमा टोली परिचालनको योजना बनाएको छ । ललितपुरका होटलमा बस्ने टोलीको सुरक्षाका लागि ललितपुरबाटै प्रहरी परिचालन हुनेछ ।

प्रत्येक फ्रेन्चाइज टोलीसँग समन्वय गर्न छुट्टाछुट्टै प्रहरी अधिकृतलाई जिम्मेवारी दिइएको छ । त्रिवि क्रिकेट मैदानको सुरक्षाको कमान्ड कीर्तिपुर वृत्तका डीएसपीले गर्नेछन् । काठमाडौं प्रहरी परिसरबाट थप डीएसपीसमेत खटाइनेछ । आवश्यकताअनुसार एसपी र एसएसपी पनि फिल्डमा परिचालन हुन सक्नेछन् ।

रंगशालामा प्रवेश गर्ने सबै गेटमा सुरक्षा जाँच गरिनेछ । रंगशालाभित्र लैजान पाइने र नपाइने सामग्रीबारे बनाइएको निर्देशिका कार्यान्वयन गराउन पनि प्रहरी परिचालन हुनेछ ।

बाहिरी सुरक्षामा सशस्त्र प्रहरीका पाँच प्लाटुन

एनपीएलको बाहिरी सुरक्षाका लागि सशस्त्र प्रहरीले सातवटा टोली परिचालन गर्ने भएको छ । पाँचवटा प्लाटुन विभिन्न स्थानमा खटिनेछन् भने अन्य टोली रिजर्भ र मोबाइल गस्तीमा रहनेछन् । राधास्वामी क्षेत्रमा सशस्त्र प्रहरीको रिजर्भ टोली राखिनेछ ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार आवश्यक परेको अवस्थामा तत्काल परिचालन गर्न सकिने गरी टोली व्यवस्थापन गरिएको छ ।

‘आवश्यक पर्दा क्विक एक्सन लिन सकिने ठाउँमा टोली रहनेछ । रिजर्भ फोर्स पनि छ । समग्र कीर्तिपुर क्षेत्रलाई नै सुरक्षित गर्नेगरी टोली परिचालन गरिएको छ,’ उनले भने ।

एनपीएलमा एकैपटक एसपीको कमान्डमा ३७५ जना सशस्त्र प्रहरी खटिनेछन् । पाँच प्लाटुनको नेतृत्व सशस्त्र प्रहरी निरीक्षकले गर्नेछन् भने समन्वयका लागि डीएसपी परिचालन गरिनेछ । आवश्यकताअनुसार काठमाडौंस्थित सशस्त्र प्रहरीका प्रमुख एसएसपी पनि फिल्डमा खटिन सक्नेछन् ।

अघिल्ला दुई संस्करणको सुरक्षा अवस्थाको समीक्षा गरी देखिएका कमजोरी सुधार गर्ने उद्देश्यले यसपटकको सुरक्षा योजना बनाइएको डीआईजी कार्कीले बताए ।

विदेशी खेलाडीको सहभागिताले सुरक्षा सतर्कता बढ्यो

आठ टोली सहभागी हुने एनपीएलको तेस्रो संस्करण सोमबार साँझ ५ बजेबाट सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट औपचारिक मान्यता पाएपछि प्रतियोगितामा विदेशी खेलाडीको सहभागिता बढेको छ । पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्ट इन्डिज, अमेरिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, इंग्ल्यान्ड र स्कटल्यान्डलगायत देशका खेलाडी एनपीएल खेल्न काठमाडौं आइपुगेका छन् ।

चर्चित अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता र प्रतियोगितामा दर्शकको आकर्षणलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको सुरक्षा निकायले जनाएका छन् । खेलाडीको सुरक्षा, दर्शकको व्यवस्थापन र सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निजी सुरक्षाकर्मी परिचालन गरिनेछ ।

सम्बन्धित समाचार