काठमाडौं । मुलुकको नियम कानुन मुलुभित्र रहेका सबैलाई लाग्छ तर एनसेल त्यस्तो कम्पनी हो जसले न कर तिर्नुपर्छ न त नियम कानुन नै मान्नुपर्छ ? दूरसञ्चार क्षेत्रको नियामक दूरसञ्चार प्राधिकरणको स्वीकृति विना नै एनसेलमा आजियाटा समुहको ८० प्रतिशत शेयर किनबेच भएको छ । बुधबार मलेसियाको आजियाटा समुहले एनसेलमा भएको ८० प्रतिशत शेयर बिक्री गर्ने घोषणा गरेको थियो । सोहि अनुरुप आज अर्थात डिसेम्बर १ तारिखमा आजियाटा समुहले यस अघि नै एनसेलमा २० प्रतिशत लगानी भएका सतिशलाल आचार्यको बेलायती कम्पनीले खरिद गरेको जानकारी दिएको छ । तर, दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पूँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, आजियाटा समुहले प्राधिकरणको स्वीकृति विना नै एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री भएको खुलेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिद बिक्री भएको थाहा पाएपनि प्राधिकरणमा स्वीकृतिको लागि नआएको बताए । प्राधिकरणले शुक्रबार एनसेल आजियटालाई पत्र लेखिसकेको उनले बताए । नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्ना शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था छ । शुक्रबार आजियाटा समूहले बिक्री गरेको एनसेलको ८० प्रतिशत शेयर बेलायतको स्पेक्ट्रलाइट युकेले किनेको एनसेलले पुष्टि गरिसकेको छ । स्पेक्ट्रलाइटका संचालक सतिशलाल आचार्य हुन । उक्त कम्पनीले आजियाटाको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट यूकेले खरिद गरेको एनसेलले जनाएको छ । स्पेक्ट्रलाइट को वेवसाइटका अनुसार यो कम्पनी २०२३ सेप्टेम्बरमा मात्रै खुलेको हो । जसमा सतिशलाल आचार्य र डेन्टन्स् सेक्रेटरिज लिमिटेडको संयुक्त लगानी रहेको खुलेको छ । एनसेलमा मलेसियन आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत शेयर स्वामित्व थियो। बाँकी २० प्रतिशत शेयर सतिशलाल आचार्यको कम्पनी सुनिभेरा क्यापिटल भेन्चर प्रालिको स्वामित्व छ।