काठमाडौं । एभरेष्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकले नाफा बढाएको हो । अघिल्लो वर्षको यही अवधिसम्मको खूद नाफा १ अर्ब ५८ करोड रुपैयाँमा सीमित थियो । बैंकको समीक्षा अवधिसम्मको वितरणयोग्य मुनाफा २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यो भनेको प्रतिसेयर २७।२५ प्रतिशतसम्मको रिटर्न दिनसक्ने क्षमता बनाएको छ भन्ने हो । कुल ११ अर्ब ७६ करोड चुक्तापूँजी रहेको कम्पनीको सञ्चालन मुनाफा बढेर २ अर्ब ४४ करोड माथि पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो मुनाफा २ अर्ब २६ करोडमा सीमित थियो । बैंकको व्यवसाय विस्तारमा भने केही संकुचन देखिएको छ । यहीकारण अघिल्लो वर्षको यही अवधिसम्म ३ अर्ब ६७ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी घटेर यो वर्ष ३ अर्ब ६२ करोडमा सीमित बन्न पुगेको छ । नाफा बढेका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानी गत वर्षको २१.४५ रुपैयाँबाट बढेर २९.१२ रुपैयाँको उचाईमा पुगेको छ भने ०.५५ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात केही बढेर ०.७७ प्रतिशत पुगेको छ । अन्य बैंकहरुको तुलनामा एभरेष्ट बैंकको खराब कर्जाको अनुपात नगण्य जस्तै हो । खराब कर्जाको प्रभिजनका कारण इम्पेयरमेन्ट चार्ज केही बढेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३६ करोड ६६ लाख इम्पेयरमेन्ट चार्ज राखेकोमा यो वर्ष बढेर ४३ करोड २३ लाख माथि पुगेको छ ।