काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले समीक्षा अवधिमा खुद नाफा, खुद ब्याज आम्दानी तथा शुल्क एवं कमिसन आम्दानीमा सकारात्मक सुधार हासिल गरेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ रहेको थियो। यस आधारमा बैंकको खुद नाफा ४.७५ प्रतिशतले वृद्धि भएको छ।
बैंकको खुद ब्याज आम्दानी पनि सामान्य रूपमा बढेको छ। अघिल्लो वर्ष ९ अर्ब १० करोड २३ लाख रुपैयाँ रहेको यस्तो आम्दानी ०.९७ प्रतिशतले वृद्धि हुँदै ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी, खुद शुल्क तथा कमिसन आम्दानीमा उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो वर्ष १ अर्ब ५३ करोड ४ लाख रुपैयाँ रहेको आम्दानी २७.२३ प्रतिशतले बढेर १ अर्ब ९४ करोड ७२ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।
शुल्क तथा कमिसन आम्दानीमा भएको वृद्धि तथा ब्याज खर्च नियन्त्रणका कारण बैंकको सञ्चालन मुनाफा ०.४९ प्रतिशतले बढेर ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकको नियामकीय मापदण्डअनुसार बैंकको वित्तीय अवस्था सुदृढ रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ। यद्यपि, प्रतिशेयर आम्दानी (ईपीएस) मा भने सामान्य गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको ईपीएस ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ।