free website hit counter

एमालेमा विभागीय जिम्मेवारीमा व्यापक हेरफेरको तयारी

beemaadmin
२०८३ जेष्ठ ८, शुक्रबार

काठमाडौँ । नेकपा एमालेले पार्टी नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओलीले यसअघि प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गरी आवश्यक संशोधनसहित अनुमोदन गर्ने तयारी गरिएको छ।

एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक बिहान ११ः३० बजे भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बस्नेछ। बैठकले नेताहरूको जिम्मेवारी हेरफेरसम्बन्धी प्रस्तावलाई अन्तिम रूप दिई त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत सम्बन्धित कमिटी र नेताहरूलाई पठाउने तयारी गरिएको छ।

गत जेठ ५ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले नयाँ कार्यविभाजनको प्रस्ताव पेस गरेका थिए। सो प्रस्तावमाथि सचिवालय सदस्यहरूले सुझाव दिएका थिए भने आजको बैठकले त्यसलाई टुंगो लगाउने अपेक्षा गरिएको छ।

एमालेको ११औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन गरिएको भए पनि यसपटक भने स्थायी जिम्मेवारी निर्धारण गर्न लागिएको हो। महाधिवेशनपछि तत्कालीन राजनीतिक कार्यसूची र निर्वाचनलाई केन्द्रमा राखेर पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिइएको थियो।

नयाँ प्रस्तावअनुसार पार्टीका महत्वपूर्ण विभागहरूको नेतृत्वमा उल्लेखनीय फेरबदल हुने संकेत देखिएको छ। प्रस्तावित कार्यविभाजनमा सचिव भानुभक्त ढकाललाई संगठन विभागको जिम्मेवारी दिने तयारी छ भने केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कूल विभाग, विशाल भट्टराईलाई जनसंगठन समन्वय विभाग तथा डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभागको नेतृत्व सुम्पिने प्रस्ताव गरिएको छ।

त्यस्तै, उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभिन्न विभागहरूको समन्वय, अनुगमन र मूल्याङ्कन गर्ने विशेष जिम्मेवारी दिने तयारी गरिएको एमाले स्रोतले जनाएको छ।

पार्टीले आगामी स्थानीय तह निर्वाचनलाई मुख्य राजनीतिक कार्यभारका रूपमा अघि सारेकाले कार्यविभाजन पनि सोही रणनीतिअनुसार गर्न लागिएको बताइएको छ। अध्यक्ष ओलीको प्रस्तावमा अधिकांश केन्द्रीय सदस्यहरूलाई स्थानीय तह निर्वाचन केन्द्रित जिम्मेवारी दिइएको छ।

एमाले नेतृत्वले नयाँ कार्यविभाजनमार्फत संगठनलाई थप गतिशील बनाउने, विभागीय कामलाई प्रभावकारी बनाउने र आगामी निर्वाचनको तयारीलाई व्यवस्थित ढंगले अघि बढाउने लक्ष्य लिएको जनाएको छ।

सम्बन्धित समाचार