काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेड उत्कृष्ट करदाता कम्पनीका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ को अवसरमा नेपाल सरकारले आयोजना गरेको विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारलाई सम्मान गरेका हुन्।
एलआईसी नेपाल आर्थिक वर्ष २०८१/०८२ मा जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनी बनेको हो। भारतीय जीवन बीमा कम्पनी एलआईसी इन्डियाको मुख्य सेयर लगानी रहेको यस कम्पनीले अन्य प्रतिस्पर्धी जीवन बीमा कम्पनीलाई पछि पार्दै उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको हो।
नेपालको दोस्रो ठूलो जीवन बीमा कम्पनीका रूपमा रहेको एलआईसी नेपालले कर भुक्तानीमा देखाएको योगदानको कदर गर्दै सरकारले सम्मान गरेको हो। राष्ट्रिय कर दिवसका अवसरमा जीवन बीमा क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा एलआईसी नेपाल छनोट भएको जनाइएको छ।
सम्मान ग्रहणपछि सीईओ प्रणय कुमारले सरकारले करदातालाई सम्मान गरेर उनीहरूको मनोबल बढाउने काम गरेको बताए। कर तिर्ने कम्पनीलाई प्रोत्साहन र सम्मान गर्नु सकारात्मक कदम भएको उल्लेख गर्दै उनले यसबाट आफूहरूलाई पनि थप हौसला मिलेको प्रतिक्रिया दिए।
सीईओ कुमार नेपाली परम्परागत गोर्खाली टोपी लगाएर सम्मान ग्रहण गर्न कार्यक्रममा उपस्थित भएका थिए।