free website hit counter

ऐन नियमको परिधिभित्र रहन बीमकलाई निर्देशन

beemaadmin
२०८२ चैत्र २९, आईतवार

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको दिगो विकास, विस्तार तथा सर्वसुलभ पहुँच विस्तारका लागि सबै सरोकारवालाहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

शुक्रबार कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित नववर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

Advertisement
Advertisement

सुवेदीले प्राधिकरणले कुनै पनि प्रकारको आग्रह वा पूर्वाग्रह नराखी निष्पक्ष रूपमा काम गर्दै आएको उल्लेख गरे। साथै, बीमा कम्पनीहरूले सम्बन्धित ऐन, नियम तथा निर्देशनहरूको पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए, जसले बीमा क्षेत्रको गरिमा अझ उचो बनाउने विश्वास व्यक्त गरे।

Advertisement
Advertisement

उनले बीमा क्षेत्रलाई आधुनिक, प्रभावकारी र पहुँचयोग्य बनाउन सुशासन, नवप्रविधिको प्रयोग तथा सेवाको विस्तार आवश्यक रहेको बताए। साथै, आवश्यक वातावरण सिर्जना गर्न प्राधिकरणले सहजीकरण गर्न सदैव तत्पर रहेको स्पष्ट पारे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै निर्देशक पूजन ढुंगेलले पछिल्लो समय बीमाको पहुँच उल्लेखनीय रूपमा विस्तार भई देशको झण्डै ५० प्रतिशत जनसंख्यामा सेवा पुगेको जानकारी दिए। उनले बीमा क्षेत्रका अधिकांश सूचकहरू सकारात्मक रहेको पनि बताए।

ढुंगेलले जोखिम व्यवस्थापनसँगै ग्रामीण क्षेत्रमा बीमा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै बीमा क्षेत्रलाई सशक्त, विश्वसनीय, आधुनिक र समावेशी बनाउन सामूहिक प्रयास आवश्यक रहेको औंल्याए।

उक्त कार्यक्रममा विद्यार्थी लक्षित चित्रकथामार्फत बीमा सम्बन्धी जानकारी दिने पुस्तक ‘बीमाको चित्रकथाको सङ्गालो’ सार्वजनिक गरिएको थियो।

कार्यक्रममा नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ तथा नेपाल लघु जीवन बीमक संघका अध्यक्षहरू, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू, साथै प्राधिकरणका निर्देशक, कर्मचारी र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार