free website hit counter

कतिसम्म कुरा मिलाउनुहुन्छ केपीले

beemaadmin
२०७८ असार २३, बुधबार

एमाले झगडाको अचम्म कस्तो भने, ‘छाँट’ र ‘आँट’ दुबैतिर बराबर ! पार्टी फुटिहालोस् वा फुटाइहालौँ भन्ने आँट दुबैतिर देखिँदैन । अनि, दुबैतिर मिल्ने छाँट पनि छैन !
आइतबार राति बालुवाटारमा बोलाइएका पुनर्बहालीप्राप्त उपाध्यक्ष भीम रावलले शुरुमा माधव नेपाललाई फोनमै खबर सुनाउनुभयो । र, अनुमति लिएरै पुग्नु पनि भयो । यो घटनासँग प्रधानमन्त्रीको मनमा सवार त्रासले मुख्य भूमिका खेलेको बताइन्छ । किनभने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको हस्ताक्षर फिर्ता लिने अल्टिमेटम भोलिपल्ट अर्थात् सोमबार साँझ ५ बजे सकिँदै थियो तर हस्ताक्षर फिर्ताको चालचुल केही भएन । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलाशमा शेरबहादुरपक्षीय रिटमाथिको सुनुवाई सकिँदै थियो (सकियो पनि) । र, मंगलबार फैसला आउने ‘पक्कापक्की’ छ भन्ने प्रधानमन्त्रीको बुझाई थियो । त्यसैले आइतबार बिहान विष्णु पौडेलसहित वार्ता टोलीका सदस्यलाई कोटेश्वरस्थित माधव नेपाल निवासमा पठाइयो । जब विष्णु पौडेलले ‘हामी ८ बजे आउँदैछौँ’ भनेर बिहान ७ बजे फोन गर्नुभयो, तब माधवले सीधै ‘आउनुस्’ भन्नुभएन । बरु ‘घनश्यामहरु पनि आउनुहुन्छ’ भन्नुभयो । अर्थात्, ओलीका मान्छे कोटेश्वर पुग्ने, आफूहरुले मात्रै भेटेर बाहिर अर्को भ्रम सिर्जना गरिदिने खतराप्रति माधव सचेत हुनुहुन्थ्यो । त्यसैले दुबै समूहका वार्ताकारलाई सँगै आउन भन्नुभयो । तर, त्यहाँ सबभन्दा पहिला घनश्याम भुषाल पुग्नुभयो ।
अदालतलाई प्रभाव पार्नकै निम्ति बालुवाटारबाट पठाइएको प्रस्ताव थियो, ‘हस्ताक्षर फिर्ता गर्ने कुरामा तपाईंहरु तयार नभए पनि केही फरक पर्दैन तर पार्टी एकताका निम्ति हामी प्रतिवद्ध छौँ भनेर तपाईं र केपी कमरेडको एउटा संयुक्त विज्ञप्ति आउनुप¥यो ।’ विष्णु पौडेलबाट यस्तो प्रस्ताव आएपछि माधवले घनश्यामको मुख हेर्नुभयो । ‘एकता नै भन्ने विषयमा त हाम्रो असहमति हैन नि † तर, विज्ञप्ति दिएर मात्रै एकता हुँदैन । एकता हुनका लागि राखिएको हस्ताक्षर फिर्ताको शर्तमा हामी नजाने कुरा स्पष्टै छ । त्यो कुरा पनि थाती राखेर वक्तव्य दिने भन्नुभएको हो भने त दिने नि, किन नदिने ?’ अनि, माधवले कुरा फुकाउनुभयो, ‘तपाईंहरु ६ जनै बसेर विज्ञप्तिको ड्राफ्ट गर्नुस्, म हस्ताक्षर गरिदिन्छु ।’
त्यहाँबाट उठेर केपीपक्षीय टोली बालुवाटार पुग्यो । माधवका कुरा केपीलाई सुनाइयो तर बालुवाटारमा माधवलाई हस्ताक्षर गराउने भनिएको विज्ञप्ति पहिल्यै तयार पारिएको रहेछ । स्रोतका अनुसार, केपीकै खल्तीमा रहेको उक्त ड्राफ्टमा ‘पार्टी एकताको मूल्यमा विगतमा हामीबाट भएका सम्पूर्ण कमि–कमजोरी सच्याइने छ’ भन्ने प्रकारको भाषा थियो । केपीपक्षीय वार्ता टोलीका एक सदस्यले भने, ‘माधव कमरेडले त यो ड्राफ्ट ६ जनै बसेर बनेको हुनुपर्छ भन्नुभएको छ । यही ड्राफ्ट लगेर छलफल गरियो भने कुरा मिल्नेजस्तो देखिँदैन ।’ यसपछि केपीले ‘मिल्दैन भने मिल्दैन त, के गर्नु †’ भन्दै विरक्ति भाव दर्शाउनुभयो । अर्थात्, ‘कमि–कमजोरी सच्याइने’ नाममा उही हस्ताक्षर फिर्ताको अडानलाई माधव नेपालले मानिदिनुपर्ने अडान त्यहाँ थियो । यसर्थ, त्यो विज्ञप्ति जारी भएन ।
यसपछि नै हो, भीम रावललाई राति बोलाएर कार्यदल व्युँताउने सल्लाह भएको । भोलिपल्ट, अर्थात् अस्ति सोमबार पनि ५ बजेतिर ‘सिंहदरबारमा बसौँला’ भनेर कार्यदलका ओलीपक्षीय सदस्यहरुले भीम रावललाई खबर पठाए । यसमा पनि कारण थियो । सर्वोच्चले भोलिपल्ट (हिजो मंगलबार) फैसला गर्छ कि गर्दैन भन्ने कुरा सोमबार ५ बजेभित्र थाहा भइसक्थ्यो । तर, अर्को पेशी २८ गतेलाई राखिएको खबर पाएपछि ओलीपक्षीय कार्यदलका सदस्यहरुलाई बैठक शुरु गर्न र समीक्षा गरेर उठ्न बालुवाटारको निर्देशन गयो । र, भयो पनि त्यस्तै । यदि भोलिपल्टै फैसला हुने थियो भने सोमबारको कार्यदल रातभरि बसेर भए पनि एउटा टंगोमा पुग्नुपर्छ र अदालतलाई प्रभाव पर्ने गरी काम गर्नुपर्छ भन्ने चाहना झल्कन्थ्यो । तर, माधव पक्षीय सदस्यहरु त्यस्तो योजनाबाट सचेत भएर कुरा गर्नुपर्छ भन्दै थिए ।
यसरी ओली गलेको छाँट र माधवसँग पार्टी फुटाइहाल्ने आँट दुबै देखिएन । ओलीले हस्ताक्षर फिर्ताका लागि दिनुभएको सोमबार साँझ पाँच बजेसम्मको समयसीमाको चिन्ता अरुलाई भन्दा बढी स्वयं ओलीलाई नै थियो । उहाँको सोचाई थियो, त्यो समयसीमाभित्र हस्ताक्षर गर्नेमध्ये चार–पाँच जनाले भए पनि फिर्ता लिने कुरा गर्लान् । तर, कसैले गरेनन्मात्रै हैन, पृथ्वीसुब्बा गुरुङदेखि शंकर पोखरेलसम्मले ओलीलाई मिल्नेबाहेक अरु कुरामा अब नलागौँ भनिरहे । पार्टी फुटे फुटोेस् भनेको भए ओलीले सोमबारको अल्टिमेटम सकिएपछि हस्ताक्षरकर्ता २३ जनालाई तेस्रोचोटि फेरि कारवाही गर्नुहुन्थ्यो । उहाँसँग त्यो आँट भएन ।
फर्केर हेर्दा…
अहिले केपी ओलीले विभिन्न शैलीका वार्ता वा कार्यदल व्युँताउनेजस्ता जे–जे काम गर्दै हुनुहुन्छ, यो सबै आफ्नो प्रधानमन्त्री पद जोगाउनका लागि हो भन्ने छर्लङ्ग छ । सरकार ढल्ला–ढल्लाजस्तो भएपछि भएभरका नियुक्ति, उद्घाटन र शिलान्यासमा उहाँको अचम्मको सक्रियता र जोगिनका लागि अदालतलाई प्रभावित पार्न वार्ता, एकताको नाममा बेला घर्केपछिको लचकताजस्ता कामबाट उहाँमा एकताभन्दा बढी रहर पदको सुरक्षामा पाइन्छ । किनभने, त्यही पद जोगाउन कहिले रामबहादुर थापा (बादल) हरुलाई बोक्नुभयो त कहिले महन्थ ठाकुरहरुलाई । तर, इतिहास कस्तो छ भने कुनै दिन मनमोहनलाई यही शैलीमा प्रधानमन्त्री टिकाउन खोज्दा केपीले गाली खानुभएको थियो ।
०५१ मंसिरमा गठित एमाले अल्पमतको सरकार ०५२ को जेठ–असारतिर पुगेर ढल्ने–ढल्ने भएपछि वामदेव गौतम, केपी ओलीहरुले एउटा तयारी गर्नुभयो, राप्रपालाई सरकारमा लगेर सरकार टिकाउने । तर, यो सुनेर मनमोहन रिसाउनुभयो । गाली गर्दै भन्नुभयो, ‘राप्रपालाई लिएर तपाईंहरु नै प्रधानमन्त्री बन्नुस्, म त बन्दिनँ ।’
त्यसपछि अर्को प्रयास भयो, राप्रपाका विष्णुविक्रम थापा, नरेशबहादुर सिंह, शरद्सिंह भण्डारीसहित आठ जनालाई एमालेमा प्रवेश गराउने † सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी प्रवेश कार्यक्रम छ भनेर नेपाल टेलिभिजनलाई बोलाइसकिएको थियो । पछि अमृत बोहोरा, युवराज ज्ञवालीहरुले मान्नुभएन । ‘यस्ता मान्छेलाई एमाले बनाएर हामी कस्तो पार्टी निर्माण गर्दैछौँ ? यो हदसम्मको अनैतिक काम गरेपछि जनताले हामीलाई के भन्छन् ?’ भनेर अमृत, युवराजहरु बम्किनुभयो । मनमोहनले पनि त्यसमा सहमति जनाउनुभयो । अनि, छेउछाउमै बसेका राप्रपा नेतालाई एमाले प्रवेश गराउने कुरा तुहियो । यद्यपि, त्यसपछि गठित शेरबहादुरको सरकार ढाल्ने क्रममा एमाले र राप्रपाको एउटा खेमाबीच सहकार्य भयो । त्यतिबेलासम्म एमालेभित्र मनमोहनको कुरा सुन्न र मान्न छाडिसकिएको थियो ।
अहिले पनि एमालेभित्र त्यस्तो शास्त्रीय जत्था बाँकी नै छ । घनश्याम भुषाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्यहरु एमालेप्रति औधी माया गर्छन् तर उनीहरु भारत र चीनको छाप नलागेका नेता हुन् । (जनआस्था साप्ताहिकबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार