free website hit counter

करोडपति ओलीज्यू, तपाईंले उपचारका लागि राज्यबाट करोडौं लिँदा जनताले हात उठाएका थिएनन्

beemaadmin
२०७७ कार्तिक ४, मंगलवार

नारायण गाउँले

– करोड़पति ओलीले उपचारका लागि राज्यबाट बारम्बार करोडौं रुपियाँ लिनुभो- जनताले हात उठाएनन् !
– सर्प पाल्ने नाममा झलनाथ खनालले नगरपालिकादेखि केन्द्र सरकारसम्मबाट बारम्बार करोडौं रुपियाँ लिँदै आउनुभएको छ- जनताले हात उठाएका छैनन् ।
– सिङ्गो विश्व, देश र जनता महामारीसँग जुध्दै गर्दा तपाईंहरू पार्टी फुटाउने अध्यादेशदेखि सांसद अपहरण र आफ्नै सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउन व्यस्त देखिनुभो- जनताले हात उठाएनन् ।
– आजसम्म बालुवाटारदेखि शीतलनिवाससम्मका गतिविधि, खर्च या बैठक पार्टीका भागबण्डा र कसले कसलाई सिध्याउने भन्नेमैं सीमित रहे । सधैँ कोभिड़भन्दा ठूलो मुद्दा बामदेव रहे- र पनि जनताले हात उठाएका छैनन् ।
– मच्छिन्द्रनाथको रथ जात्रालगायतका धेरै धार्मिक-सांस्कृतिक कार्यक्रममाथि रोक लागे पनि सयौंको भीड़ जम्मा गरेर पार्टी प्रवेश गर्न, उद्घाटन गर्न, राष्ट्रपति भवनमा पार्टीका नेतालाई भोज दिन कुनै कानुनले छेकेको छैन- तर जनताको हात यहाँ पनि उठेको छैन ।
– नक्कली सुकुम्बासी बनेर राज्यकोष चुस्ने विष्णु पौडेलहरूलाई नै कारबाहीको साटो निर्लज्ज रूपमा राज्यकोषको चाबी थमाइएको छ ( फेरि पनि जनताले हात उठाएका छैनन् ।
– विदेशी माटोमा अलपत्र मजदुरलाई बीस हजारको हवाइ भाड़ा सत्तरी हजारमा बेचियो, कवारेन्टीनको नाममा होटेलसँग कमिशनको डिल भयो र ती निमुखाको रगत चुस्ने काम भयो । अझै पनि कति धेरै नागरिक बेख़र्ची भएर अलपत्र छन् ( खै कतै कसैले हात उठाएका छैनन् ।
– सेनाको नाम बेचेर ओम्नीकै सामान ल्याइएपछि सेना मेडिकल सामग्री आयातबाट पछि हट्न बाध्य भयो । अरबौं ख़र्चेर ल्याइएका सामग्री नक्कली निस्किए । रक्षामन्त्री नै फेर्नुपर्ने अवस्था आयो- तर पनि जनताको हात उठेको छैन ।
– किसानले मल पाएनन् । उत्पादन गरेर जीविका चलाउनेले बजार पाएनन् । दैनिक ज्यालामजदूरी गरेर पेट पाल्नेहरू सड़कमा एक छाक खानाका लागि लाइन लागे । कति धेरै नागरिकले उपचार पाएनन् र एम्बुलेन्समैं हस्पिटल चहार्दै ज्यान गुमाए । बोर्डरमा आएर पनि आमाको किरिया बस्न देश छिर्न पाएनन् । अहिले भेन्टिलेटर कहीँ कतै खाली छैन, दिनहुँ कतिले ज्यान गुमाउँदै छन् । न आर्थिक सहयोग, न कर छुट, न कुनै सुविधा । सक्ने बाँच, नसक्ने जति मर जस्तो अवस्था छ । खै त जनताको हात उठेको छैन !

ए सरकार !
आज आएर कसरी अचानक तिम्रो मात्र हात उठ्यो रु महामारी व्यक्तिगत समस्या होइन । यो देशको जिम्मेबारी हो । चरम पूँजीवादी देशले समेत हात उठाउन सकेका छैनन् भने आफूलाई समाजवादी दाबी गर्ने तिम्रो हात एक्कासि कसरी उठ्यो !
राजश्वले धानेन भनेर मन्त्री, सांसद, सल्लाहकार या कर्मचारीको सङ्ख्या घटेको छैन । तिनको तलबभत्ता, तामझाम र भ्रष्टाचार घटेको छैन । भूकम्प गए सबैभन्दा पहिले त्रिपाल तिनैले पाउँछन्, कोभिड़मा हप्तामैं दुई पल्ट तिनले पिसीआर गर्न पाउँछन् । भान्जाभान्जीलाई जागीर चाहिए तत्काल नयाँ आयोग बन्छ, नियुक्ति हुन्छ ।
आफू मात्रै चुस्ने, मोटाउने र डकार्ने तर आम जनताको जीवनमरणको सवाल आउँदा हात उठाउने तिमीलाई म मेरो सरकार कसरी भनूँ ! तिम्रा ओम्नीदेखि यति ग्रुपसम्म पाल्नकै लागि मैले पेट काटेर कर किन तिरूँ !
भन त सरकार, आफू अघाएपछि तिमीले हात उठाउन मिल्छ भने जनताले पनि हात उठाउन किन मिल्दैन !

  • फेसबुकबाट

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार