काठमाडौँ । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको भन्दै विपक्षी दलहरूबीच छलफल गर्न बैठक आह्वान गरिएको हो। प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएका छन्।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताहरूलाई निमन्त्रणा गरिएको छ। छलफलका मुख्य विषयमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम, त्यसप्रति विपक्षीहरूको प्रतिक्रिया तथा संयुक्त प्रतिवाद रणनीति रहने जनाइएको छ। मंगलबार अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेपछि मात्रै सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको तथ्य सार्वजनिक भएको थियो। त्यसपछि आङ्देम्बेले उक्त कदमलाई अलोकतान्त्रिक, बलमिच्याइँपूर्ण र सार्वभौम संसद्को अपमान भएको टिप्पणी गरेका छन्। उनले लोकतन्त्र, जनअभिमत, संसद्को सर्वोच्चता र संविधानको मर्मको रक्षा गर्न प्रतिपक्ष प्रतिबद्ध रहेको पनि बताएका छन्।
दुई तिहाइ नजिकको बहुमत हुँदाहुँदै पनि अध्यादेश ल्याइएको भन्दै उनले सरकारप्रति प्रश्न उठाएका छन्— आफ्नै बहुमतमाथि किन अविश्वास ? सरकारको यस कदमको नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले कडा विरोध गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी अध्यादेश ल्याउने निर्णय गरेको खुलेको भए पनि सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमा यसबारे स्पष्ट जानकारी दिएका थिएनन्।