काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई तत्काल पदमा पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। बुधबार दुवै पक्षको बहस सुनेपछि न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागअनुसार अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको हो।
अदालतको आदेशसँगै सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेका मनोजकुमार केसीलाई नियमित रूपमा काम गर्ने बाटो खुलेको छ। अब कार्कीलाई हटाउने सरकारको निर्णय कानुनसम्मत भए वा नभएको विषयको अन्तिम निरुपण भने रिट निवेदनमाथिको अन्तिम सुनुवाइबाट हुनेछ।
सर्वोच्चले निवेदकले माग गरेको न्यायिक उपचार र अन्तरिम आदेशसँग सम्बन्धित कानुनी प्रश्नहरू रिट निवेदनको अन्तिम सुनुवाइका क्रममा निरुपण तथा सम्बोधन हुने प्रकृतिको देखिएको जनाएको छ। त्यसैले तत्काल अन्तरिम आदेश जारी गर्न आवश्यक नदेखिएको अदालतको निष्कर्ष छ।
अदालतको आदेशमा मनोजकुमार केसी कात्तिक १८ गते नै प्रहरी महानिरीक्षकमा नियुक्त भई कार्यभार सम्हालिसकेको अवस्थालाई पनि उल्लेख गरिएको छ। साथै, प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली राज्यको शान्ति सुरक्षा कायम गर्ने महत्वपूर्ण विषय भएकाले विवादलाई लामो समयसम्म अनिर्णीत राख्न नहुने इजलासको ठहर छ।
अदालतले मुद्दालाई प्राथमिकताका साथ छिटो टुंग्याउन पनि आदेश दिएको छ। विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएपछि वा जवाफ पेस गर्ने अवधि समाप्त भएपछि सात दिनभित्रै पेसी चढाउन निर्देशन दिइएको छ। पेसी हटाउन नपाउने पूर्वसूचनासहित दुवै पक्षलाई जानकारी गराएर नियमानुसार मुद्दा पेस गर्न आदेशमा भनिएको छ।
सरकारले कात्तिक १८ गते दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गर्दै मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो। त्यसैदिन दर्ज्यानी चिह्न लगाएर केसीले प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए। आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै कार्की सर्वोच्च अदालत पुगेका थिए।
कार्कीले कात्तिक २० गते सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। उक्त रिटमाथि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो। अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नुअघि दुवै पक्षको कुरा सुन्नुपर्ने भन्दै इजलासले मंसिर ७ गतेका लागि पेसी तोकेको थियो।
तर, उक्त दिन आईजीपी मनोज केसीले सर्वोच्च अदालतको आदेश नबुझेका कारण सुनुवाइ हुन सकेन। त्यस दिन न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा मुद्दाको पेसी तोकिएको थियो। त्यसपछि सुनुवाइ दुई दिन सरेर बुधबार भएको हो।
बुधबारको सुनुवाइपछि सर्वोच्चले तत्काल कार्कीलाई पुनर्बहाली गर्न अस्वीकार गरेसँगै प्रहरी संगठनको नेतृत्वसम्बन्धी विवादको अन्तिम फैसला नआएसम्म केसी नै आईजीपीका रूपमा रहने भएका छन्।
यद्यपि, सर्वोच्चको पछिल्लो आदेशले सरकारको निर्णयलाई अन्तिम रूपमा सदर गरेको भने होइन। अन्तरिम आदेश नआउनु र रिटको अन्तिम फैसला हुनु फरक विषय हुन्। अब अदालतले सरकारको निर्णय, कार्कीको दाबी र दुवै पक्षले पेस गर्ने कानुनी आधार तथा प्रमाणको परीक्षण गरेपछि मात्रै उनलाई हटाउने निर्णय बदर हुने वा कायम रहने भन्ने टुंगो लाग्नेछ।