free website hit counter

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ जेठ १९ मा

beemaadmin
२०८० जेष्ठ ९, मंगलवार

काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले यही जेठ १९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ लाख २१ हजार ८६८ कित्ता आईपीओ स्थानीयका लागि जारी गर्नेछ। यो आईपीओमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका ९ (साबिकको सुष्पा क्षमावती गाविस) तथा भीमेश्वर नगरपालिका १ (साबिकको सुद्रावती गाविस) का बासिन्दाले आवेदन दिन सक्नेछन्। यसैगरी सर्वसाधारणका लागि छुट्याइएको १ लाख २१ हजार ८६७ कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि निष्कासन गरिएको छ। दुवै समूहका लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द छिटोमा आउँदो असार १ गते र ढिलोमा असार १७ गते बैंकिङ समयपछि हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने यो आईपीओमा आउँदो असार १ गतेसम्म आवेदन दिन पाउनेछन्।
स्थानीयले लक्ष्मी बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। विदेशमा रहेका नेपाली श्रमिकले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

सम्बन्धित समाचार