free website hit counter

कृत्रिम इन्धन अभाव गराउने पेट्रोल पम्पलाई १० लाखसम्म जरिवाना हुने

beemaadmin
२०८३ असार १९, शुक्रबार

काठमाडौं — नेपाल आयल निगमले उचित कारणबिना पेट्रोल पम्प बन्द गरी कृत्रिम इन्धन अभाव सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने व्यवस्था लागू गरेको छ।

निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै यस्तो गतिविधिमा संलग्न व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा पाँचदेखि १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने व्यवस्था गरेको हो।

हालै पेट्रोलियम व्यवसायीहरूले मूल्य घट्ने अनुमान गर्दै निगमका डिपोबाट इन्धन नउठाएपछि देशका विभिन्न क्षेत्रमा आपूर्ति प्रभावित भएको थियो। त्यसपछि कृत्रिम अभाव रोक्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको निष्कर्षसहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले निगमलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएकी थिइन्।

मन्त्रीको निर्देशनपछि बसेको निगम सञ्चालक समितिको बैठकले विनियमावली संशोधन गर्दै ‘नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्न नहुने’ नयाँ व्यवस्था समावेश गरेको हो।

संशोधित व्यवस्थाअनुसार पहिलो पटक उल्लङ्घन गर्ने व्यवसायीलाई तीन लाख रुपैयाँ जरिवाना र पाँच दिनसम्म इन्धन आपूर्ति रोक्का गरिनेछ। दोस्रो पटक दोहोरिएमा छ लाख रुपैयाँ जरिवाना र १० दिनसम्म आपूर्ति बन्द हुनेछ। तेस्रो पटक पनि उल्लङ्घन गरेमा १० लाख रुपैयाँ जरिवानासहित १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिने निगमले जनाएको छ।

निगमका अनुसार नयाँ व्यवस्था लागू भएसँगै अब कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पमाथि कानुनी रूपमा थप कडाइका साथ कारबाही गर्न सकिनेछ।

सम्बन्धित समाचार