free website hit counter

के छ अमेरिका नेपालीको अवस्था ?

beemaadmin
२०७६ चैत्र १७, सोमबार

काठमाडौं । कोरोनाको आतंक विश्वभर छ । कोरोना नपुगेको ठाउँ कही कतै बाँकी रहेको छैन । रोजगारीका लागि विश्वभर फैलिएका नेपाली अहिले आफ्नो र परिवारको चिन्तामा छन् । नेपालीको बाक्लो उपस्थिति रहेको मुलुक अमेरिका अहिले कोरोनाबाट आक्रान्त बनेको छ । त्यहाँ रहेको नेपाली पनि उत्तिकै चिन्तामा छन् । कोरोनाबाट आइतबारसम्म अमेरिकामा करिब १ लाख २५ हजार व्यक्ति संक्रमित बनेका छन् भने २ हजारभन्दा बढीको मृत्यु भएको छ । यसमा कति नेपालीहरु परेका छन् भन्ने यकिन छैन । अहिलेसम्म एकजना गैरआवासीय नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान मृत्यु भएका अनिल लिम्बुको शुक्रबार दाहसंस्कार गरिएको थियो । उनको दाहसंस्कारमा परिवारका सदस्य र आफन्त पनि सहभागी हुन सकेनन् । न्युयोर्कमा रहेको ग्रिनउड सिमेट्री नामक निजी कम्पनीलाई दाहसंस्कारको जिम्मा दिइएको थियो । १२ सय अमेरिकी डलर लिएर सो कम्पनीले दाहसंस्कार गरेको हो ।
दुई दशकदेखि अमेरिकामा बस्दै आएको लिम्बुको परिवार उतैको नागरिक बनिसकेका छन् । उनीहरु पाँचथरका हुन् । लिम्बुका श्रीमती, दुई छोरा र एक छोरी छन् । परिवारका अन्य सदस्य पनि भाइरसबाट संक्रमित रहेको चर्चा चले पनि पुष्टि भएको छैन । अमेरिकामा अन्य नेपालीहरु धेरै संख्यामा संक्रमित रहेको आशंका गरिएको छ, तर धेरै सार्वजनिक हुन चाहेका छैनन् । अमेरिकामा व्यक्तिगत गोपनियताको कानून कडा भएकाले पनि धेरै केसहरु बाहिर आउन नसकेको राजदूत अर्जुन कार्की बताउँछन् ।
‘मैले न्यूयोर्कको अस्पतालमा भर्ना भएका दुईजना संक्रमितसँग आफैंले फोनमा कुरा गरेँ, त्यसबाहेक अरु बिरामीहरु सार्वजनिक हुन चाहेका छैनन्,’ कार्कीले भने । न्यूयोर्कमा धेरै संख्यामा नेपालीहरु संक्रमित भएको हुन सक्ने उनको आशंका छ । साथै, टेक्सासमा पनि केही नेपालीहरुमा यो भाइरस भेटिएको राजदूत कार्कीले बताए ।
न्यूयोर्कको ज्याक्सन हाइट क्षेत्रमा व्यवसाय गर्ने भिडियोग्राफर शम्भु मोक्तान र अर्का व्यवसायी जीवन बमलाई संक्रमण पुष्टि भइसकेको छ । दुवै अहिले स्थानीय अस्पतालमा उपचाररत छन् । यस्तै भर्जिनिया राज्यको फेरफाक्समा बसोबास गर्दै आएकी ३८ वर्षिया महिला संक्रमण देखिएपछि सेल्फ क्वारेन्टाइनमा बसिरहेकी छन् ।
अमेरिकाको गृहमन्त्रालयमा काम गर्ने गुणराज लुईंटेलले फेसबुकमा स्टाटस लेख्दै न्यूयोर्कमा मात्रै अनुमानित २०० जना नेपाली कोरोनाबाट संक्रमित भएर उपचार गराइरहेको उल्लेख गरेका छन् । न्यूयोर्क एउटा अस्पतालमा ११ जना, अर्कोमा १२ जना र अर्कोमा ७ जना भर्ना भएको उनको दाबी छ । तर, यसको कतैबाट पुष्टि भने भएको छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार