free website hit counter

के नै भरोसा रह्यो र जीवनको

beemaadmin
२०७६ पुष २, बुधबार

साँझसम्म हाँसेर, नाचेर खाएको मान्छे बिहान ओछ्यानबाट नउठ्दै ‘मर्यो’ भन्दा पत्याउन सकिएला ? हत्तपत्त त्यस्ता कुरा पत्याइने गरिँदैन । तर, केही चलचित्रकर्मी आइतबार राति र सोमबारको बिहान ओछ्यानमै यस्ता कुराले बेचैन भए ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको वियोगमा छन्, नेपालका चलचित्रकर्मी । हँसिला, रसिला र मिजासिला स्वभावका केशवलाई कालले हैन, लापरवाहीले लगेको भन्छन्, साथीहरू । स्वयं उनको र सहयोगीहरुको थप लापरवाहीका कारण नेपाली फिल्म जगतले राम्रो प्रशासक, कलाकार र निर्मातालाई सधैंका लागि गुमाउनु परेको छ ।

घटना भएको दिन हेटौंडाका चलचित्र पत्रकारहरुले आयोजना गरेको एउटा कार्यक्रममा जानुपर्ने थियो । तर, शनिबार विहान निधन भएका कलाकार साथी दीपक क्षत्रीको सोमबार विहान गर्ने भनिएको अत्येष्टिमा सहभागी हुन नपाइएला भन्ने चिन्ताले गएनन् । बरु, आइतबार राति आफैँले प्राण त्यागे । र, सोमबार दीपकसँगै ओल्लो चिता र पल्लो चिता भएर भौतिक देहबाट मुक्त भए ।

यो अपत्यारिलो घटनाको वास्तविकता उस्तै दुःखद् छ । सोमबार बोर्डका सदस्य तथा हेटौँडाका हल मालिक नरेन्द्र महर्जनको पारिवारिक कार्यक्रममा सहभागी हुन कीर्तिपुर पुगेका थिए । केशव अघिपछि लत्तो नै छाडेर वा जथाभावी मदिरा सेवन गर्दैनथे । त्यसदिन कीर्तिपुरको स्थानीय मदिरा उत्पादकले तयार पारेको ‘ऐला’ भने स्वाद मानेर पिए । चलचित्र विकास बोर्डका सवारी चालक हरिका अनुसार उनी रातको साढे ९ बजे भर्खरै दुई करोडमा किनिएको, अन टेष्ट लेखिएको बोर्डको गाडीमा चढेका थिए । त्यसदिन मात्र हैन, अघिपछि पनि मदिरा सेवन गरेपछि गाडीमै सुत्ने बानी थियो । बढी पिएको र ढिलो भएको दिन घरका मान्छेलाई दुःख दिनुभन्दा बोर्डमै रहेको शयन कक्षमा सुत्न रुचाउँथे । र, मदिरा पिएर गाडीमा सुतेपछि चालक हरि अध्यक्षसँग बोल्दैन थिए, जहाँ पुर्याउन भनिएको हुन्छ, सरासर त्यहाँ पुर्याउने गर्थे । त्यसदिन ‘कता जाऔँ हजुर’ भनेर दुई–तीन पटक सोधे, तर जवाफ पाएनन् । त्यसैले सीधै अनामनगरस्थित घर पुर्याए । घर पुगेर ‘आइपुगियो सर’ भने, तर केशव बोलेनन् । बोकेर लैजान खोजे, सकेनन् । त्यसपछि केशवकी पत्नी र छोरालाई बोलाए । दुबै आए । त्यतिबेला मुखमा फिँजजस्तो केही थियो, पत्नीले सफा गरिदिइन् ।

 

केशवले मदिरा पिएका दिनमा प्रायः त्यस्तो फिँज आउने गरेको थियो । यतिबेला १० बजिसकेको थियो । चालक हरिले भने, ‘सरलाई चिसो लागेको होला । म बोर्डमै लगेर एसीमा सुताउँछु ।’ तर, अवस्था अलिक खराब देखेका कारण पत्नीले छोरालाई पनि साथमै पठाइन् । किनभने, अघिपछि पनि धेरै पिएको वा ढिलो भएका दिन केशव बोर्डमै सुत्ने गर्थे । त्यहाँबाट धोविखोला कोरिडोरको बाटो हुँदै १० बजेर २० मीनेट जाँदा गाडी चलचित्र विकास बोर्डको गेटमा पुगेको छ । हरि गाडीबाट ओर्लिएर गेट खोल्दै थिए, १५ वर्षीय छोरा आत्तिँदै कराउन थाले, ‘हरि दाइ–हरि दाइ, बाबाले सास फेर्नुभएको छैन ।’ हरि गाडीमा चढे, सीधै ओम अस्पताल पुर्याए । त्यहाँको इमर्जेन्सीमा पुर्याएर डाक्टरले नाडी छामे, मुख नमीठो पारे । छाति जाँचे, मुटुको चाल शून्य । र, उनको निधन भइसकेको जानकारी दिए । पोष्टमार्टम नगरिएका कारण चिकित्सकले निधनको कारण बताएका छैनन् । तर, जब घरबाट चलचित्र विकास बोर्डतर्फ गाडी लाग्यो, तब बीच बाटोमा केशवले बान्ता गरेका थिए । शायद, बान्ता सर्किएर त्यसले श्वासप्रश्वास प्रक्रियामा लामो समय अवरोध गर्याे र अचेत अवस्थामै प्राण त्यागेको हुनुपर्ने अनुमान ओम अस्पतालका डाक्टरहरुले गरेका छन् ।

 

अघिपछि खानपिनमा हिँड्दा निर्माता छवि ओझा साथमा हुन्थे । तर, त्यसदिन छवि थिएनन् । यदि छवि साथमा थिए भने उनले बाटोमै केशवलाई असजिलो भएको पत्तो पाउँथे र तुरुन्तै नजिकैको अस्पताल पुर्याउन भ्याउँथे । वा, त्यही दिन पनि अनामनगरस्थित घरबाट बोर्डतिर नलगी नजिकैका नर्भिक, अन्नपूर्ण न्युरो, एभरेष्टमध्ये कुनै अस्पताल पुर्याइएको भए यस्तो घटना नहुन पनि सक्थ्यो ।

जनआस्था साप्ताहिकबाट साभार

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार