काठमाडौँ । दक्षिण कोरियासँगको सम्बन्ध थप बिग्रँदै गएपछि उत्तर कोरियाले सीमा क्षेत्रभरि ठूल्ठूला लाउडस्पिकर पुनः सञ्चालन गर्ने तयारी गरेको छ। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले सीमा क्षेत्रको निरीक्षण गरेपछि केही दिनभित्रै (अक्टोबर महिनाभित्रै) लाउडस्पिकर सञ्चालनमा ल्याइने बताएकी हुन्।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले बिहीबार उनको भनाइ सार्वजनिक गरेको हो। यदि यो प्रसारण पुनः सुरु भएमा १६ महिनापछि दुई देशबीच सीमापार लाउडस्पिकरको मनोवैज्ञानिक युद्ध ब्युँतिनेछ।
दुवै कोरियाले विगतदेखि नै सीमापार प्रचारप्रसारका लागि ठूला लाउडस्पिकर प्रयोग गर्दै आएका छन्।
दक्षिण कोरिया: सन् २०२५ जुनमा राष्ट्रपति ली जे म्युङले पदभार सम्हालेपछि तनाव कम गर्न दक्षिणतर्फको प्रसारण बन्द गराएका थिए भने सोही वर्षको अगस्टमा सेनाले लाउडस्पिकर हटाएको थियो। दक्षिणले यसअघि के-पप संगीत र उत्तर कोरियाको आलोचना गरिएका समाचार प्रसारण गर्थ्यो।
उत्तर कोरिया: पछिल्ला वर्षहरूमा उत्तर कोरियाले लाउडस्पिकरबाट डरलाग्दा जनावरका आवाजहरू प्रसारण गर्ने गरेको थियो।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाले प्रसारण सुरु गरेमा त्यसअनुसार जवाफी कदम चाल्न सकिने बताएको छ। दक्षिण कोरियाली संयुक्त सैन्य प्रमुखहरूको कार्यालयका अनुसार उत्तर कोरियाका लाउडस्पिकरहरूमा नियमित मर्मतसम्भार भइरहेको देखिएको छ।
गत सेप्टेम्बरमा सैन्य सीमारेखाको दक्षिणतर्फ भएको बारूदी सुरुङ विस्फोटमा दक्षिण कोरियाका तीन सैनिक घाइते भएपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको हो।
दक्षिण कोरिया र संयुक्त राष्ट्रसंघीय कमान्ड (UN Command) ले उक्त विस्फोट उत्तर कोरियाले बिछ्याएको बारूदी सुरुङका कारण भएको निष्कर्ष निकाल्दै यसलाई १९५३ को युद्धविराम सम्झौताको उल्लंघन ठहर गरेका थिए। तर, प्योङयाङले भने यसलाई दक्षिण कोरिया आफैँले रचेको नाटक भन्दै संलग्नता अस्वीकार गरेको छ।
किम जोङ उनले सन् २०२३ डिसेम्बरमा दुई कोरियालाई ‘एकअर्काप्रति शत्रुतापूर्ण दुई राज्य’ घोषणा गरेयता उत्तर कोरियाले सीमाक्षेत्रमा बारूदी सुरुङ बिछ्याउने, काँडेतार लगाउने र ट्यांक रोक्ने अवरोधहरू निर्माण गरिरहेको छ।
बुधबार उत्तर कोरियाका मार्सल पाक जोङ चोनसँगै सीमा क्षेत्रको निरीक्षण गर्दै किम यो जोङले सीमालाई ‘कहिल्यै पार गर्न नहुने स्थायी रेखा’ र अभेद्य किल्ला बनाउने किम जोङ उनको निर्देशन रहेको जानकारी दिइन्।
दक्षिण कोरियाका अनुसार सीमाक्षेत्रमा निर्माण कार्य भइरहेका बेला उत्तर कोरियाली सैनिकहरूले २५० किलोमिटर लामो सैन्य सीमारेखा (DMZ) पटक-पटक पार गरेपछि दक्षिण कोरियाली सेनाले चेतावनी दिने र चेतावनीस्वरूप गोली चलाउने कार्यसमेत गर्दै आएको छ।