free website hit counter

कोरोनाका कारण नाकामा रोकिए करोडौंका फलफुल, ३० करोड जाेखिममा

beemaadmin
२०७६ फाल्गुन १८, आईतवार

काठमाडौं । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र धरासायी बन्दै गएको बेला नेपाली अर्थतन्त्रमा त्यसको असर नपर्ने कुरै भएन । त्यसको साँकेतिक असर नेपालको आयातमूलक व्यापारको क्षेत्रमा देखिन थालेको छ । नेपालले प्राय सबैजसो व्यवसाय आयातमै निर्भर रहेको छ । नेपालको सबैभन्दा धेरै तरकारी तथा फलफुलको कारोबार हुने कालिमाटी तरकारी बजार, बल्खु फलफुल तथा तरकारी बजारमा आउने स्याउ लगायत अन्य फलफुलजन्य सामग्रीहरु कोरोना भाइरसका कारण नाकामै रोकिन पुग्दा नेपाली बजारमा फलफुलको अभाव देखिन थालेको छ मूल्यमा पनि वृद्धि भएको छ ।

१ सय ५० थोक मूल्यमा पाइने गरेको लसुन खुद्रा बजारमा अहिले पाँच सय भन्दा बढी मूल्य एक केजीकै पुगेको छ । त्यस्तै स्याउको मूल्यमा पनि वृद्धि भएको छ । बल्खु स्थित नेपाल फलफुल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँका अनुसार, अहिले छिमेकी मुलुक चीनबाट भित्रिने फलफुल, लसुन तथा कच्चा माल केरुङ र तातोपानी नाका पारी नै रोकिन पुग्दा व्यवसायीको ३० करोड भन्दा बढीको सामान भित्रिन पाएको छैन । फागुन २ गते नै नेपाली नाकामा आइपुगेका झण्डै ३ सय नेपाली गाडीमा स्याउ, लसुन तथा कच्चा माल रहेका छन् । दैनिक १० हजार प्रतिगाडी व्यवसायीहरुले चार्ज तिर्दै बस्दा प्रतिदिन १० लाख बराबरको क्षति थपिँदै गएको छ । तातोपानी नाकामा पार्किङको सुविधा यथेष्ट नहुँदा व्यवसायीहरुले करिब २० वटा लोड गाडी केरुङतर्फ फिर्ता पठाएर पार्किङमा राखेका छन् ।

नेपाली बजारमा अहिले चिनियाँ स्याउको स्कट सकिँदै गएको र भएको सामान पनि उपभोक्ताले महंगोमा खरिद गर्नुपर्ने बाध्यता छ । नाकामा रोकिएका उक्त सामानहरु नेपाल चाँडै नल्याउने हो भने व्यवसायीहरुले करोडौंको घाटा मात्रै व्यहोर्नु पर्दैन उपभोक्ताहरुलाई समेत भार थपिँदै जाने संघका अध्यक्ष बानियाँ बताउँछन् । उनी भन्छन्, व्यवसायीले आजको घाटा भोलि उपभोक्ताबाटै उठाउने हुँदा अहिलेको यो सबै बोझ उपभोक्तामाथि पर्ने हुँदा सरकारले यस विषयमा गम्भीरतापूर्वक ध्यान दिनु आवश्यक छ । बानियाका अनुसार यो समस्याका बारेमा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसमक्ष व्यवसायीको टोलीले गतहप्ता भेट गरी अवगत गराइसकेको र मन्त्रीले परराष्ट्र, स्वास्थ्य र गृहमन्त्रीसहितको समितिमा कुरा राख्ने बताए पनि गाँठो फुकेको छैन ।

बानियाँ भन्छन्, चिनियाँ फलफुल व्यवसायीहरु जहाज मार्फत् दैनिक ५/६ जना आउँछन् तर कन्टेनरमार्फत् आएको फलफुल नाकामै रोकिनु विडम्बनापूर्ण भएको र उपयुक्त उपाय निकालेर रोकिएका सामान नेपाल भित्र्याउन नेपाल सरकारले पहल गर्नुपर्छ । रोकिएको सामानहरुको बीमा नभएका कारण धेरै दिन नाकामै रोकिँदा ती वस्तु पूरै नष्ट हुने र त्यसको क्षति नेपाली व्यवसायीले व्यहोर्नु पर्ने हुन्छ । नाकामा लोड गरिएका गाडी रोकिएको पनि तीन हप्ता बितिसकेको छ । यति लामो समय बितिसक्दा पनि समस्याको समाधान नहुँदा व्यवसायी मारमा परेका छन् ।

सम्बन्धित समाचार