free website hit counter

कोरोनामाथिको विजय सबैको चाहना

beemaadmin
२०७७ बैशाख १, सोमबार

काठमाडौं । विषम परिस्थितिका बीचमा नयाँ वर्षको आगमन भएको छ । यतिबेला विश्वमाथि नै महामारीले सताइरहेको छ । सबैको चाहना यो कालो बादल विश्वबाट हटोस्, यो आतंकबाट मुक्ति मिलोस् भन्ने नै रहेको छ । यही बेला नेपालमा नयाँ वर्षको आगमन भएको छ । सामाजिक सञ्जालदेखि सबैतिर कोरोनाको सन्त्रास हटोस् भन्ने नै कामना सबैले गरेका छन् । राष्ट्रपतिदेखि पूर्व राजासम्मले शुभकामना सन्देश जारी गर्दै कोरोनामाथि विजय प्राप्त होस् भन्ने कामना गरेका छन् ।

मानव जातिको जीत सुनिश्चित : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ मा आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिएकी छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले कोरोनाभाइरस सिर्जित यस विपदमा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको उल्लेख गरेकी छन् ।

कोरोनाविरुद्ध एकता आवश्यक : उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले नयाँ वर्ष २०७७ ले कोरोना भाइरसविरुद्धको संघर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्षको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले नयाँ वर्षको प्रारम्भिक महिनाहरूमै कोरोना महामारी नियन्त्रण हुने र देश पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पुरानै लयमा फर्कने विश्वाससमेत व्यक्त गरेका छन् ।

अप्ठ्यारो परिस्थितिमा नयाँ वर्षको आगमन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ सालको स्वागत साह्रै अप्ठ्यारो परिस्थितिमा गर्नुपरेको बताएका छन् । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने समय उल्लासमय हुनुपर्नेमा त्यसो हुन नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गर्दै पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमंगको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं, भनेका छन् । उनले भनेका छन्, ‘तपाईंहरुका प्रधानमन्त्रीका रुपमा मैले केही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको छ ।

निषेधको राजनीति सकियो : पूर्वराजा
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले कोराना भाइरसको महामारीबाट बच्न सबैले सजगतासँगै एकता आवश्यक भएको बताएका छन् । उनले अघि भनेका छन्, कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यर्थाथलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौं । पुर्खाले अनादीकालदेखि अबलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धती नै सर्वश्रेष्ठ र बैज्ञानिक भएको महशुस विश्व जगतले गरेको समेत उनको सन्देशमा उल्लेख छ । पूर्व राजा शाहले आफ्नो सन्देशमा भनेका छन्, ‘हाम्रा मौलिक सनातनिक सभ्यताको पुनर्जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ ।

कोरोनामाथि जितको वर्ष बनोस् : सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ लाई धर्तीका सबै मानिसलाई त्राहिमाम बनाइरहेको कोरोनामाथि जितको वर्ष बनाउन आह्वान गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइमा शुुभकामना सन्देश दिँदै उनले समृद्धि र दिगो विकासको बाटोमा अघि बढेको वर्षका रुपमा नयाँ वर्षलाई स्थापित गर्न आह्वान गरेका छन् । नयाँ वर्षलाई स्वागत गर्दै गर्दा कोभिड –१९ को महामारीविरुद्ध संघर्ष गर्नु परिरहेको प्रसंग उल्लेख गर्दै सभामुख सापकोटाले भनेका छन्, नयाँ वर्षको आरम्भलाई कोरोना र सम्भावित अन्य महामारीलाई परास्त गर्ने दृढ संकल्प गर्नुपरेकाले सोहीअनुसारको व्यवहारमा रही आपसमा शुुभकामना आदानप्रदान गरेर स्वागत गरौँ ।

महामारी अन्त्यसँगै सामान्य अवस्थामा फकने : राष्ट्रियसभा अध्यक्ष
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि नयाँ वर्ष २०७७ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमासुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले लिएका नीति निर्णयहरूलाई अझ बढी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । भौतिक र आर्थिक विकासकोरोनाको महामारीले उच्च जोखिममा परेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले नयाँ वर्षले यस महामारीलाई अन्त्य गर्दै सम्पूर्ण नेपालीलाई सामान्य अवस्थामा फर्कन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

मानव जातिको एकता बनोस् : प्रचण्ड
नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ वर्षमा कोरोना भाइरस विरुद्धको संघर्षमा सफलता मिलोस् भन्ने कामना गरेका छन् । नयाँ वर्ष २०७७ सालकोे शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नयाँ वर्षले मानव जातिका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय एकताको आधार तयार पार्ने विश्वास समेत व्यक्त गरेका छन् । प्रचण्डको सन्देशमा लेखिएको छ, नयाँ वर्षले कोरोना भाइरसको महामारीका विरुद्ध संघर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्दछु ।

कोरोनाविरुद्ध सबै एकजुट भएर लडौं : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबैजना एकजुट भएर लड्न आवश्यक रहेको बताएका छन् । उनले आजको चुनौती सामना गर्न कांग्रेसले सरकारलाई हरसम्भव सघाइरहेको पनि बताएका छन् । नयाँ वर्ष वि।सं। २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै देउवाले कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाईसघाइरहेको बताएका हुन् । नयाँ वर्ष कोराना भाइरसमाथि विजय पाउन सफल हुने विश्वास व्यक्त गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार