काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानीमा देखिएको ढिलासुस्ती हटेपछि बीमितले दाबी भुक्तानी फटाफट पाउन थालेका छन् । बीमा समितिले कोरोना बीमा वापत करिब ३ अर्ब रुपैयाँ भुक्तानी भएको जनाएको छ । समितिले माघ ९ गते शुक्रबारसम्म सो बराबरको दाबी भुक्तानी भएको जनाएको हो । त्यस अवधिमा ३० हजार २७० जना बीमितले २ अर्ब ९४ करोड ७३ लाख ५० हजार रुपैयाँ भुक्तानी पाएका छन् । त्यस अवधिमा आवश्यक कागजपत्र पुरा भएका ५७ हजार ७६२ वटा दाबीका फाइलहरु प्राप्त भएका छन् । भने ५ हजार ८६४ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ । यस्तै भेरिफिकेशनको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ७ हजार ८२९ वटा फाइलहरु पेन्डिङ्ग छन् भने १ हजार ५९६ वटा दाबी भुक्तानीका फाइल महाशाखामा पठाउन तयार छ । ८ हजार ९७१ वटा फाइलहरु भेफिकेशनको प्रकृयामा रहेका छन् । दाबी भुक्तानीका लागि आवश्यक कागजपत्र पुरा नभएपछि ३ हजार १८ वटा फाइल बीमा कम्पनीहरुलाई नै फिर्ता पठाएको पनि समितिले जनाएको छ ।
हालसम्म २१४ वटा दाबीको भुक्तानी नभएको समितिको तथ्याङ्क छ । त्यसमा दोहोरो दाबी तथा फेक दाबी आएपछि भुक्तानी नपाएका हुन् । समितिले निजी ल्यावमा परीक्षण गरेको दाबी भुक्तानीमा फेक क्लेम परेको आंशका गर्दै दाबीका फाइलहरु भेरिफिकेशन प्रकृया शुरु गरेको थियो ।