काठमाडौं । कोरोना संक्रमितको दर बढ्न थालेको छ । तर यतिबेला न त राहतका पोका बजारमा देखिएका छन् नत सरकारले नै राहत दिन सक्ने अवस्था छ । कोरोनाको आतंक रोक्न लकडाउन शुरु हुनेबित्तिकैदेखि शुरु भएको राहत साँच्चै भोकमरि लाग्ने बेलामा अस्ताइसकेको छ । सरकारले भने कोरोना रोकथाम तथा नियन्त्रणका नाममा झण्डै १० अर्ब रकम खर्च गरिसकेको जनाएको छ । संघ, प्रदेश र स्थानीय तह गरी तिनै तहको सरकारबाट कोरोना रोकथाम तथा नियन्त्रणका नाममा झण्डै १० अर्ब रकम खर्च भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिएका छन् । सचिव विडारीका अनुसार कोरोना नियन्त्रण रोकथामका लागि सामाग्री खरिद, क्वारेन्टाइन निर्माण लगाएतमा ९ अर्ब ८७ करोड रुपैंया खर्च भएको हो । जसमध्ये केन्द्र तहबाट ६ अर्व ३ करोड, प्रदेश तहबाट १ अर्व ८ करोड र स्थानीय तहबाट अहिलेसम्म २ अर्व ७६ करोड खर्च भएको जनाइएको छ । यो रकममा विभिन्न संघसंस्था‚ दातृनिकायले गरेको सहयोग भने जोडिएको छैन । कोषमा भएका रकम कोरोना नियन्त्रण तथा रोकथाम, क्वारेन्टाइन तथा राहतका लागि पनि प्रयोग गरिने र हालसम्म २ अर्व ३२ करोड रुपैया जम्मा भएको छ ।सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका नाममा तीन महिनामै १० अर्ब खर्च भएको जनाए पनि झण्डै २३०० संक्रमित भइसकेका छन् । कोरोना संक्रमित भएरै ९ जनाले ज्यान गुमाइसकेका छन् ।