free website hit counter

क्रिसमले बढाएको धार्मिक सद्भाव

beemaadmin
२०७९ पुष १०, आईतवार
  • सूर्य बल तामाङ

प्रत्येक वर्षको डिसेम्बर २५ का दिन विश्वभरका ईसाई धर्मालम्बीहरुले क्रिसमस मनाउँदै आएका छन् । ईसाईहरुको सबैभन्दा ठूलो यो पर्व विविध कार्यक्रमका साथ धुमधामका साथ मनाउने गरिन्छ । यो पर्व केवल ईसाईहरुले मात्रै नभएर गैर ईसाईहरुले समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरी मनाउँदै आएका छन् । यो अन्तरधर्मको सम्मानमा देखिएको सद्भाव हो । यो पर्वसँग जोडिने विभिन्न किसिमका चिह्न एवं संकेतहरुका कारण पनि यो पर्व सबैको साझा बन्न पुगेको हो ।
नेपाल भौगोलिक हिसाबले विश्व मानचित्रमा सानो देखिए पनि बहुजाति, बहुसांस्कृतिक र बहुधार्मिक आस्था केन्द्रका रूपमा विशाल छ । भौगोलिक बनावट, वातावरण र संस्कृतिमा विविधता यहाँको विशेषता हो । यस्तै विशेषताले गर्दा नेपाल विश्वमा धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित रहँदै आएको छ । अन्तरधर्मको सम्मान नेपाली समाजको अर्को विशेषता र परिचायक हो । नेपाली संस्कृति भन्नेबित्तिकै भेषभूषा, रीतिरिवाज, धार्मिक सद्भाव, पर्व, खानपान, जीवनशैली पर्छन् । सामाजिक रीतिरिवाज र संस्कृति धर्मसँग जोडिएको हुन्छ ।
जननिर्वाचित संविधानसभाबाट निर्मित नेपालको संविधान–२०७२ ले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मात्र नभनी धर्मनिरपेक्ष राज्य घोषणा गरेको छ । संविधानले धर्मनिरपेक्षताबारे यसरी स्पष्ट पारेको छ– ‘सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।’ सनातन भनेको शाश्वत या सधैं कायम रहेको भन्ने बुझिन्छ । सनातन धर्म भन्ने बित्तिकै धेरैले हिन्दू धर्म सम्झन्छन् । तर, सनातन धर्म भनेको प्राचीन कालदेखि निरन्तर प्रयोगमा रहँदै आएका सबै धर्म हुन् । नेपालको सन्दर्भमा हिन्दू, किराँत, बौद्ध, इसाई धर्म नै सनातन धर्म हुन् । धर्मनिरपेक्षताले सनातनदेखि चलिआएका सबै धर्म–संस्कृतिलाई संरक्षणको वाचा गर्दै नेपालका सबै धर्म–संस्कृतिलाई धार्मिक, सांस्कृतिक स्वतन्त्रता दिएको छ । संविधानअनुसार धर्ममा आस्था राख्ने धर्मनिरपेक्ष नेपालका प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास, संरक्षण र प्रवद्र्धन गर्ने स्वतन्त्रता रहन्छ । यो उद्देश्यका लागि प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक पनि दिइएको छ । यो भन्दैमा धार्मिक स्वतन्त्रताको नाममा कसैले सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न वा गराउन पाइँदैन । कसैले कसैलाई लोभ, लालच, प्रलोभन या दबावमा आर्थिक लाभको कारण देखाई धर्मान्तरण गर्न तथा धर्ममा खलल पर्ने काम कानून बमोजिम दण्डनीय रहेको छ ।
नेपालमा विविध धर्म, सम्प्रदाय एउटै बगैंचामा फुलेका फुल जस्ता सुन्दर भएर बसेका छन् । धर्म, संस्कृतिका नाममा प्रचलित संस्कारहरू जातजाति, छुवाछुत, भेदभावपूर्ण व्यवहार, महिला तथा बालबालिकामाथिको विभेदको अन्त्य नै सबै धर्मको उद्देश्य हो । नेपालको मौलिक विशेषता भनेकै यस्तै विविधताहरुबीचमा देखिएको एकता हो । विश्वमै धार्मिक सहिष्णुता कायम भएको देश भन्नेबित्तिकै सबैको मानसपटलमा नेपालको नाम अगाडि आउँछ । सामाजिक सद्भाव अभिवृद्धिका लागि धार्मिक सहिष्णुता प्रमुख माध्यम बन्दै आएको छ । यसलाई जीवन्त राख्ने काम यहाँ रहेका धार्मिक सम्प्रदायले गर्दै आएका छन् । कुनै पनि धर्म र संस्कारबिना नागरिक जीवन्त रहन सक्दैन ।
करिब ४ सय वर्षअघिदेखि नेपालमा क्रिसमस मनाउन थालिएको इतिहास भेटिन्छ भने विश्व इतिहासमा रोममा इसा पूर्व ३५४ देखि यो पर्व मनाउन थालिएको हो । उपहार आदानप्रदान, मण्डलीहरुमा सेवा, पारिवारिक तथा सामाजिक जमघट, क्रिसमस सजावट, प्रार्थना, क्रिसमसक्यारोल, संगीतका माध्यमबाट यो पर्व मनाउने गरिन्छ । क्रिसमसले आपसी सद्भाव, एकता र भातृत्व सम्बन्धको विकासलाई पछिल्लो समयमा अझै प्रगाढ बनाउँदै लगेको छ । नेपाल धर्म निरपेक्ष राष्ट्र घोषित भएपछि सार्वजनिक रुपमा समेत क्रिसमस मनाउन थालिएको हो । यसले धार्मिक सहिष्णुतामा वृद्धि गर्नुका साथै अन्तरधर्मावलम्बीहरूबीच एकता कायम गर्न मजबुत भूमिका खेल्दै आएको छ ।
राज्यको कुनै धर्म हुँदैन र हुनुहुँदैन । राज्यले कुनै एक धर्मलाई मात्र प्राथमिकता र प्रवद्र्धन हुने किसिमको मात्रै कार्यक्रम ल्याउनु पनि हुँदैन । सबै धर्मप्रति राज्यको समान दृष्टिकोण र व्यवहार हुनु नै धार्मिक समानता हो । धर्म निरपेक्षता भन्दा पनि धार्मिक समानताले मात्रै सबै धर्मावलम्बीहरूबीचको सम्बन्ध प्रगाढ बनाउँछ । धार्मिक समानताका नाममा धार्मिक अराजकता फैलाउने छूट भने कसैलाई पनि छैन, र दिइनु पनि हुँदैन ।
संघीय संरचना अंगिकार गरेपछि तीन तहका सरकार क्रियाशील छन् । तीनै तहका सरकारले अन्य विषयलाई जोड दिए जस्तै आ–आफ्नो क्षेत्रभित्र मनाइने धर्म संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्ने किसिमका कार्यक्रम प्रारम्भिक रुपमा थालिएको छ । यसलाई अझै विस्तार गर्न जरुरी छ । धार्मिक सहिष्णुता कायम राख्दै यसको प्रवद्र्धन गर्न सके नेपाललाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सकिन्छ । यसतर्फ सरकार, राजनीतिक दल लगायत सबै धर्म सम्प्रदायका अगुवाहरुको ध्यान जान जरुरी छ । जननिर्वाचित संसद स्थापित भइसकेको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनपश्चात् नयाँ जनप्रतिनिधिहरु चुनिएका छन् । स्थानीय तह र प्रदेशमा पनि नयाँ प्रतिनिधि आइसकेको अवस्थामा नयाँ सोचको विकास हुन जरुरी छ ।
अन्त्यमा हाम्रो प्रार्थना र सदिक्षा छ, देश समृद्धशाली बनोस्, शान्ति छाओस्, सारा नेपालीहरुकाबीचमा सद्भाव, सहिष्णुताको विकास होस् परमेश्वरसँग हाम्रो यही निरन्तर प्रार्थना छ ।

(लेखक २०१७ सालमा स्थापित भएको मण्डलीहरुको जेष्ठ छाता संगती नेपाल राष्ट्रिय मण्डली सङ्गतिका अध्यक्ष हुनुहुन्छ ।)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार