free website hit counter

गर्मिका कारणा पेरिसमा मदिरा बिक्री र सार्वजनिक सेवनमा अस्थायी प्रतिबन्ध

beemaadmin
२०८३ असार १२, शुक्रबार

पेरिस । युरोपमा केही दिनदेखि जारी भीषण तापलहर पूर्वी क्षेत्रतर्फ फैलिन थालेपछि फ्रान्सको राजधानी पेरिसमा मदिराको सार्वजनिक सेवन र टेकअवे बिक्रीमा अस्थायी प्रतिबन्ध लगाइएको छ। अत्यधिक गर्मीका कारण स्वास्थ्य जोखिम बढेपछि स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो।

प्रहरी प्रशासनका अनुसार शुक्रबार दिउँसो १२ बजेदेखि शनिबार बिहान ७ बजेसम्म सार्वजनिक स्थानमा मदिरा सेवन गर्न रोक लगाइएको छ। यही व्यवस्था शनिबार साँझदेखि आइतबार बिहानसम्म पनि लागू हुनेछ। त्यस्तै, शुक्रबार साँझ ६ बजेदेखि शनिबार बिहान ७ बजेसम्म तथा शनिबार साँझदेखि आइतबार बिहानसम्म मदिराको टेकअवे बिक्रीमा पनि प्रतिबन्ध रहनेछ। यद्यपि, इजाजतप्राप्त बार र रेस्टुरेन्टमा भने यो निर्णय लागू हुने छैन।

मौसमविद्हरूका अनुसार स्पेन, बेलायत र फ्रान्समा केही दिनदेखि कायम चरम गर्मी अब जर्मनी, चेक गणतन्त्रलगायत पूर्वी युरोपका मुलुकतर्फ सर्ने क्रममा छ। जर्मनीमा शुक्रबार तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भने चेक गणतन्त्रका अधिकांश क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ।

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले स्वास्थ्य सतर्कतालाई उच्चतम तहमा पुर्‍याइएको जानकारी दिएका छन्। अस्पतालमा थप स्वास्थ्यकर्मी परिचालन गर्नुका साथै वृद्धवृद्धा तथा उच्च जोखिममा रहेका नागरिकको विशेष सुरक्षा सुनिश्चित गर्न सरकार सक्रिय रहेको उनले बताएका छन्।

पेरिसका प्रहरी प्रमुख प्याट्रिस फोरका अनुसार अत्यधिक गर्मीका कारण अस्पतालमा बिरामीको चाप उल्लेखनीय रूपमा बढेको छ। स्वास्थ्य सेवा प्रणाली आफ्नो क्षमताको सीमासम्म पुगेको उनले बताएका छन्।

संयुक्त राष्ट्रसंघका जलवायु परिवर्तन प्रमुख साइमन स्टिलले युरोपमा देखिएको तापलहर जलवायु परिवर्तनको प्रत्यक्ष असर भएको उल्लेख गर्दै नवीकरणीय ऊर्जा प्रवर्द्धन, वन संरक्षण र जलवायु अनुकूलनका उपायलाई तीव्र बनाउन विश्व समुदायलाई आग्रह गरेका छन्।

फ्रान्समा लगातार नयाँ तापक्रमको रेकर्ड कायम भइरहेको छ। बुधबार राति देशको औसत न्यूनतम तापक्रम २२ डिग्री सेल्सियस पुगेको थियो भने उत्तरपश्चिमी शहर नान्तमा रातको तापक्रम २७.२ डिग्री सेल्सियस मापन गरिएको थियो।

स्वास्थ्य मन्त्री स्टेफानी रिस्टले अत्यधिक गर्मीले वृद्धवृद्धासँगै युवाहरूको स्वास्थ्यमा पनि गम्भीर असर पारिरहेको बताएकी छन्। उनका अनुसार पेरिसमा पछिल्लो २४ घण्टामा सामान्य अवस्थाको तुलनामा चार गुणा बढी हृदयाघातका घटना दर्ता भएका छन्। तापलहरसँग सम्बन्धित मृत्युको आधिकारिक विवरण भने अझै सार्वजनिक गरिएको छैन।

यसैबीच, पेरिस क्षेत्रमा एक तीन वर्षीय बालक कारभित्र मृत फेला परेका छन्। दक्षिणी फ्रान्सको कार्पन्त्रासमा केही दिनअघि दुई बालबालिकाको कारभित्र मृत्यु भएको घटना सार्वजनिक भएको थियो। उत्तरपश्चिमी शहर रेनेसमा पनि अत्यधिक गर्मीका कारण घरमै पाँचदेखि छ जनासम्मको मृत्यु भएको हुन सक्ने चिकित्सकहरूले बताएका छन्।

सम्बन्धित समाचार