free website hit counter

गुणाकर भट्टलाई गभर्नर बनाउने तयारी

beemaadmin
२०८२ बैशाख ४, बिहीबार

काठमाडौं । लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति गरेका छन्। नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर डा गुणाकर भट्टलाई बनाउन सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुटेको हो। हाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।
गभर्नर बन्ने दौडमा रहेका अन्य पाँच जनालाई पछि पार्दै कांग्रेस सभापति देउवाको प्रस्तावमा भट्टले बाजी मार्ने निश्चित भएको हो। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री ओली र सभापति देउवाबीचको छलफलमा भट्टलाई गभर्नर बनाउने सहमति जुटेको छ। यद्यपि, भट्टसहित तीन जनाको नाम अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मन्त्रिपरिषद्मा पेस गरेपछि गभर्नर नियुक्तिको औपचारिक निर्णय हुनेछ। समितिका सदस्य डा विश्व पौडेल भारत भ्रमणमा छन् र उनी शनिबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ। त्यसैले सम्भवतः सोमबार मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीले गभर्नरका लागि तीन जनाको नाम प्रस्ताव गर्नेछन्। र, सोही बैठकले भट्टलाई नियुक्त गर्नेछ। गभर्नर बन्ने पक्का भएपछि भट्टले मन्त्रिपरिषदमा नाम जानुअघि राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा गर्न सक्नेछन्। कांग्रेस सभापति देउवा उपचारको क्रममा आइतबार सिंगापुर जाने कार्यक्रम छ। सिंगापुर जानुअघि देउवा गभर्नरको नाम टुङ्ग्याउन चाहन्थे। सोही अनुसार बुधबार सहमति जुटेको कांग्रेसका ती नेताले बताए।
सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले बुधबार दिउँसो गभर्नरमा सहमति जुटेको र छिट्टै बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने बताएका थिए। बजारमा सरकार ढल्ने हल्ला चलेपछि मंगलबार बिहान ओली र देउवाबीच बालुवाटारमा एकान्त–वार्ता भएको थियो। देउवानिकट अर्का एक नेताका अनुसार, सभापति देउवाले सोही भेटमा ओलीसमक्ष गभर्नरको नाम प्रस्ताव गरेका थिए। प्रधानमन्त्री ओलीले हाल कायममुकायम गभर्नरको भूमिकामा रहेकी डेपुटी गभर्नर नीलम ढुंगानालाई नै गभर्नर बनाउन जोडबल गरेका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार