free website hit counter

ग्लोबल बैंकको नाफा १ सय ६८ करोड पुग्यो

beemaadmin
२०७६ माघ २६, आईतवार

काठमाडौं । जनता बैंकसँग मर्जरपछि पहिलोपटक एकीकृत वित्तीय विवरण सार्वजनिक गरेको ग्लोबल आईएमई बैंकको नाफा १६८ करोड रुपैंया पुगेको छ । आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैंया नाफा कमाएको विवरण सार्वजनिक गरेको हो ।
यो नाफा अघिल्लो वर्ष कमाएको १ अर्ब २२ करोडको तुलनामा ३७ प्रतिशत बढी देखिएको छ । तर जनता बैंक र हाथवे फाइनान्सलाई समेत आफूमा लिएको बैंकको ती सबैको नाफा भने अघिल्लो बर्ष ३२ करोड १९ लाख तथा हाथवेको ३७ लाख नाफा समेत जोड्दा भने अहिलेको नाफा अघिल्लो वर्षको नाफाभन्दा ८.४४ प्रतिशत मात्रै बढी हुन आउँछ ।
बैंकले पुस मसान्तसम्म १ खर्ब ९७ अर्ब ४१ करोड रुपैंया निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ५३ करोड रुपैंया कर्ज प्रवाह गरेको छ । पुस मसान्तसम्म सो बैंकले संकलित निक्षेपमा ५ अर्ब ८ करोड रुपैंया ब्याज दिँदा प्रवाहित कर्जामा ८ अर्ब ६३ करोड रुपैंया ब्याज उठाएको छ । त्यस्तै गैरब्याजतर्फ ६९ करोड रुपैंया खुद आम्दानी आर्जन गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
बैंकले कर्मचारी खर्चतर्फ १ अर्ब १६ करोड ९३ लाख तथा अन्य सञ्चालन खर्चतर्फ ४८ करोड ६० लाख रुपैंया खर्च गरेको देखिएको छ ।

सम्बन्धित समाचार