free website hit counter

घर-बुहारी कि घर-ज्वाइँ ?

beemaadmin
२०७६ पुष १३, आईतवार

खासगरी प्रायजसो सासू र बुहारी विच मन मिल्न नसक्दा समाजमा अधिकांस बुढाबुढी बाआमाहरुलाई छोराबुहारीले “पाल्ने” वा स्याहार-सुसार गर्ने सहज अवस्था बन्न सकेको छैन । जतिसुकै पढेलेखेका, देखेजानेका, धनी वा सम्पन्न र आधुनिक भन्नेहरुमा पनि यो समस्या विकराल बनेको देखिन्छ । किनकी, सामान्यतया सासू र बुहारी विच आमा र छोरी विच जस्तो घनिष्ट माया र प्रेम नै हुँदैन, जुन अस्वभाविक हुँदै होइन । प्रगाढ माया प्रेम नहुने बित्तिकै सानो तिनो निहुँ पनि झगडाको ठुलो कारण बन्दछ र सम्बन्ध बिग्रन्छ, अनि टूट्छ ।

बिग्रिएको सम्बन्ध जोड्ने बलियो आधार भनेको नै मूख्यतया माया हो जुन लगभग मरिसकेको हुन्छ । त्यतिबेला कसैलाई पनि कुनै अर्ती, उपदेश वा सामाजिक लाज-गालले छुँदै छुँदैन । छोराको बाआमा प्रति माया बढी नै हुने भएपनी त्यसले मात्र सामान्यतया समस्या सुल्झाउन नसक्ने हुन्छ । यस्तो परिस्थिती पनि आउन सक्छ कि – छोराले कि त बाआमा कि त श्रीमती छोड्नु पर्ने हुन्छ । तर प्राकृतिक रुपमा त्यति बेला छोराले बाआमालाई नै छोड्नु पर्ने वाध्यता आइपर्छ, जसलाई अन्यथा मान्नु पनि हुँदैन । किनकी, बाआमाको कारण छोराले आफ्नो घर बिगार्नु हुँदैन ।

अर्को तर्फ पुरुष प्रधान समाजले बाआमालाई छोरी-ज्वाइँ सँग बस्ने सहज परिस्थिती बनाइ दिएको हुँदैन । त्यसलाई स्वभाविक रुपमा स्विकार्दैन । त्यसले गर्दा बुढाबुढीहरू घरको न घाटको अवस्थामा पुग्न वाध्य हुन्छन । छोरी सँग बस्दा सबै समस्याहरु समाधान हुन्छन भन्ने पनि हुँदैन, तथापी बाआमा र छोरी विचको आत्मियता, प्रगाढ माया र ममताले सानो तिनो निहुँहरु पानीको फोका जसरी फुट्छन र सम्बन्ध सामान्य अवस्थामा फर्कन सक्ने बलियो सम्भावना हुन्छ । स्मरण रहोस – पारिवारिक सम्बन्धलाई बिगार्न वा भत्काउन सामान्यतया महिलाहरुको नै भूमिका प्रधान हुन्छ ।

यि कुराहरु प्रति सम्वेदनशील हुने र समस्याको कारण र उपायहरुलाई मसिनो गरी केलाउने हो भने बाआमाहरु छोरीज्वाँईहरु सँगै बस्नु बढी उपयुक्त हुने देखिन्छ । सबैले यसै गर्नुपर्छ भनेको चाँहीं होइन, समस्या भएकाहरुको हकमा यसलाई समाधानको विकल्पको रुपमा लिनु श्रेयस्कर हुन्छ भनेको हुँ । समस्या नै नभएको ठाउँमा समस्या जन्माउने मेरो मनाशय होइन ।

हामीले हाम्रो सामाजिक परम्परा, सोच र अवधारणाहरुमा समेत ठुलै परिवर्तन गर्नु पर्ने देखिन्छ । बाआमाहरुले उनीहरुको चाहना र आवश्यकता अनुसार छोरीज्वाँईसँग बस्ने कुरा मात्र होइन, हाम्रो विवाह पद्दतिमा समेत उदार र फराकिलो सोच राख्नु पर्ने हुन्छ । जस्तो कि – श्रीमती श्रीमानको घरमा भित्रिन हुँदा श्रीमान श्रीमतीको घरमा भित्रिन नहुने भन्ने कुनै कारण हुन्छ र ?

लामो समयदेखी जरा गाडेर बसेको पुरुष प्रधान समाजको परम्परा र चिन्तनले यो कुरा गर्न त के सोच्न समेत मानिसलाई गार्हो हुन्छ । घर-ज्वाइँ प्रतिको हेराइ र बुझाइमा नै परिवर्तन गर्न सक्नु पर्छ, अब । घर-बुहारी भन्ने शब्द र सम्बन्धलाई जसरी सजिलै स्विकार गरिन्छ ठीक त्यसरी नै घर-ज्वाइँलाई पनि सामान्य रुपमा ग्रहण गर्न सक्नुपर्छ ।

मेरो विचारमा त श्रीमान श्रीमतीको घरमा भित्रिने चलनले मैले शुरुमा उठाएको सामाजिक समस्यालाई समाधान गर्न धेरै सहयोग पुर्याउँछ । तथापि, पारिवारिक अवस्था, आवश्यकता र चाहना अनुसार श्रीमती श्रीमानको घरमा भित्रिने वा श्रीमान श्रीमतीको घरमा भित्रिने वा विहे भएको पहिलो दिन देखिनै श्रीमान र श्रीमती उनीहरुको नयाँ घर वा कोठामा भित्रिने सबै विकल्पहरुलाई सहज रुपमा लिन सक्नु पर्छ र त्यसप्रति उदार बन्न सक्नु पर्छ । समाजले के भन्ला वा ठान्ला भनेर आफ्नो जीवनलाई कसैलेपनी कष्टप्रद र अन्धकारमय बनाउन हुँदैन । आफ्नो जीवन कसरी जीउने भन्ने बारे निर्णय आँफैले गर्न सक्नुपर्छ । समाज त्यसको लागि अबरोधक होइन सहयोगी बन्नु पर्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार