काठमाडौं । सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेको पिपुल्स इनर्जी लिमिटेड लगातार दुई आर्थिक वर्षदेखि घाटामा देखिएको छ। कम्पनीको नोक्सानी अघिल्लो वर्षको तुलनामा घटे पनि अझै नाफामा फर्किन सकेको छैन।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार असार मसान्तसम्म ३९ लाख ९ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कम्पनीको खुद नोक्सानी ५४ लाख २ हजार रुपैयाँ थियो। यसअनुसार एक वर्षको अवधिमा कम्पनीको घाटा करिब १५ लाख रुपैयाँले घटेको छ।
नोक्सानीमा रहेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ऋणात्मक छ। अघिल्लो आर्थिक वर्षमा २० रुपैयाँ ऋणात्मक रहेको ईपीएस गत आर्थिक वर्षमा घटेर १५ रुपैयाँ ऋणात्मकमा झरेको छ।
त्यस्तै, कम्पनीको सञ्चालन नोक्सानी पनि घटेको छ। अघिल्लो आर्थिक वर्षमा ६५ लाख ५ हजार रुपैयाँ रहेको सञ्चालन नोक्सानी गत आर्थिक वर्षमा ५६ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ। करअघिको खुद नोक्सानीसमेत ५८ लाख ५ हजार रुपैयाँबाट घटेर ३७ लाख ५६ हजार रुपैयाँमा झरेको छ।
६६ करोडको आईपीओ निष्कासन प्रक्रिया अघि बढाउँदै
पिपुल्स इनर्जीले सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६६ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको हो।
कम्पनीले २०८१ साउन २३ गते आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले पाएको छ।
सेबोनले गत कात्तिक ११ गते आईपीओ निष्कासनको प्रतीक्षामा रहेका ११७ कम्पनीलाई छ चरणमा वर्गीकरण गरेको थियो। उक्त वर्गीकरणमा पिपुल्स इनर्जी चौथो चरणमा परेको छ।
कम्पनीको अधिकृत तथा जारी पुँजी ३ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ छ।
खिम्ती–२ सहित ६ कम्पनीमा लगानी
पिपुल्स इनर्जीले खिम्ती–२ जलविद्युत् आयोजनासँग सम्बन्धित तथा ऊर्जा क्षेत्रका अन्य गरी ६ वटा कम्पनीमा लगानी विस्तार गरेको छ।
कम्पनीले आरएम इन्भेस्टमेन्ट कम्पनी, खिम्ती एग्रो प्रालि, पिपुल्स एग्रो प्रालि, नेपाल पावर एक्सचेन्ज कम्पनी, बलेफी इनर्जी प्रालि र मल्टी इनर्जी डेभलपमेन्ट प्रालिमा लगानी गरेको हो।
आरएम इन्भेस्टमेन्ट कम्पनीमार्फत ताप्लेजुङका विभिन्न भूभाग हुँदै बग्ने घुन्सा खोलामा १५५.८२ मेगावाट क्षमताको जलविद्युत् आयोजना विकास गर्ने तयारी भइरहेको छ। आयोजनाको सर्वेक्षण अनुमति प्राप्त भइसकेको र सम्भाव्यता अध्ययन भइरहेको कम्पनीले जनाएको छ। यस कम्पनीमा पिपुल्स इनर्जीले हालसम्म ६ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ।
त्यस्तै, खिम्ती–२ आयोजनाका लागि आवश्यक जग्गा खरिद गर्ने उद्देश्यले खिम्ती एग्रो प्रालि स्थापना गरिएको हो। पिपुल्स इनर्जीका नाममा ७५ रोपनीभन्दा बढी जग्गा खरिद गर्न प्रशासनिक तथा प्राविधिक कठिनाइ भएपछि पूर्ण स्वामित्वमा रहने गरी छुट्टै कम्पनी स्थापना गरिएको जनाइएको छ। यसमा कम्पनीले ४ करोड ८ लाख रुपैयाँ लगानी गरेको छ।
आयोजनाका लागि थप जग्गा खरिद गर्न पिपुल्स एग्रो प्रालि पनि स्थापना गरिएको छ। कम्पनीको पूर्ण स्वामित्व रहेको यस संस्थामा हालसम्म ३ करोड ५१ लाख रुपैयाँ लगानी भएको छ।
नेपालमा उत्पादित विद्युत् आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने उद्देश्यले नेपाल पावर एक्सचेन्ज कम्पनी स्थापना गरिएको हो। यसमा पिपुल्स इनर्जीले ५० लाख रुपैयाँ लगानी गरेको छ।
त्यस्तै, सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित बलेफी खोलामा निर्माणाधीन ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनामा ५ करोड ५ लाख रुपैयाँ लगानी गरेको छ। रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित लाङटाङ खोलामा निर्माण भइरहेको २० मेगावाट क्षमताको आयोजनामा पनि ५० लाख रुपैयाँ लगानी गरेको छ। उक्त आयोजना निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ।
प्राकृतिक विपत्तिका कारण खिम्ती–२ निर्माणमा १५ महिना ढिलाइ
पिपुल्स इनर्जीले निर्माण गरिरहेको ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत् आयोजनाको निर्माण कार्य प्राकृतिक विपत्ति तथा प्राविधिक समस्याका कारण करिब १५ महिना पछाडि धकेलिने भएको छ।
कम्पनीको वार्षिक साधारण सभामा प्रस्तुत विवरणअनुसार २०८१ वैशाखमा आएको बाढीपहिरोले आयोजनाको पहुँचमार्ग तथा सडक सञ्जालमा ठूलो क्षति पुर्याएको थियो। त्यस्तै, सुरुङमा भएको दुर्घटनापछि स्थानीय अवरोध सिर्जना हुँदा निर्माण कार्य प्रभावित भएको थियो।
सोही वर्ष जेठ १९ र असोज १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले प्रवेश सुरुङमा समेत क्षति पुर्याएको थियो। खुर्कोट–मन्थली जोड्ने मुख्य पुल, ठेकेदार कम्पनीको स्टोर, मेसिन तथा निर्माण सामग्री बगाउँदा आयोजनाका लागि आवश्यक सामग्री ढुवानी प्रभावित भएको कम्पनीले जनाएको छ।
डा. मोहनप्रसाद आचार्यले तयार पारेको प्रतिवेदनले प्राकृतिक विपत्ति तथा अन्य काबुबाहिरका परिस्थितिका कारण आयोजना निर्माणमा करिब १५ महिना ढिलाइ हुने औँल्याएको थियो।
यसका अतिरिक्त कोरोना महामारी, निर्माण सामग्री तथा इन्धनको मूल्यवृद्धि, सरकारी स्वीकृति प्रक्रियामा भएको ढिलाइ र डिजाइन परिवर्तनले पनि आयोजना निर्माण अवधि र लागत बढाएको कम्पनीको भनाइ छ।
ऋण भुक्तानी र थप लगानीका लागि पुँजी वृद्धि गर्ने योजना
कम्पनीले खिम्ती–२ जलविद्युत् आयोजनाका बाँकी मुख्य निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। साथै, आयोजना निर्माणका क्रममा विभिन्न व्यक्ति, कम्पनी तथा संस्थाबाट लिइएका अल्पकालीन ऋण भुक्तानी गर्ने योजना बनाएको छ।
अन्य जलविद्युत् आयोजनामा समेत लगानी विस्तार गर्ने उद्देश्यले कम्पनीले पुँजी वृद्धि रणनीति अघि सारेको छ। आर्थिक वर्ष २०८३/८४ भित्र सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने योजना कम्पनीले सार्वजनिक गरेको छ।
त्यसैगरी, जलविद्युत् उत्पादन तथा प्रसारणसँग सम्बन्धित अन्य आयोजना र कम्पनीमा लगानी गर्ने, नयाँ जलविद्युत् आयोजनाको खोजी तथा अध्ययन गरी निर्माण अघि बढाउने कम्पनीको भावी योजना रहेको छ।
कम्पनीको सञ्चालक समिति
पिपुल्स इनर्जीको सञ्चालक समितिमा नौ जना सदस्य रहेका छन्। कम्पनीको कार्यकारी अध्यक्षमा कृष्णप्रसाद आचार्य छन्।
सञ्चालक समितिमा दिलसुन्दर श्रेष्ठ (विन्ध्यवासिनी हाइड्रोपावरका प्रतिनिधि), सन्दीप आचार्य (रिपु मर्दिनी पावरका प्रतिनिधि), अनिल घिसिङ, देवबहादुर पौडेल क्षेत्री, अर्जुनकुमारी कार्की र शशि लामा रहेका छन्।
त्यस्तै, स्वतन्त्र सञ्चालकमा अनिलभक्त श्रेष्ठ र अरुण घिसिङ रहेका छन्।