काठमाडौं । अर्थतन्त्र लयमा फर्किन नसकेको र आर्थिक क्षेच चयामन हुन नसकेको वर्तमान समयमा पनि वित्तीय क्षेत्रहरुको अवस्था भने आशालाग्दो नै रहेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकहरूले झण्डै साढे १९ अर्ब नाफा कमाएको देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो महिनामा नै मुलुकले जेनजी आन्दोलन भोगेको र यसको प्रत्यक्ष असर बैंक र कर्जामा परेका कारण पनि यो वर्ष अघिल्लो वर्षको तुलनामा कम नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकले देखाएको । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार बैंकहरुले १९ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएका छन् । जबकि यही समयमा गत वर्ष बैंकहरूले २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । त्यसो त यसअघि नै सबै बैंकहरूले तीन महिनाको विवरणमा यस वर्ष अघिल्लो वर्षको तुलनामा कम नाफा भएको देखाएका थिए । जुन चौथो महिनामा पनि दोहोरिएको हो । नाफामा ग्लोबल आइएमई नै पहिलो सूचीमा छ । बैंकले चार महिनामा २ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १८.९० प्रतिशत धेरै हो । गत वर्ष पनि कम्पनीले २ अर्ब ११ करोड ४० लाख रुपैयाँ बढी नाफा कमााएको थियो । धेरै नाफा कमाउनेको दोस्रो सूचीमा नबिल बैंक परेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ६९ करोड नाफा कमाएको बैंकले यस आर्थिक वर्षमा २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार तेस्रोदेखि सातौं स्थानसम्म क्रमश प्राइम कमर्सियल बैंक,एभरेष्ट बैंक, एनएमबी बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । प्राइम बैंकले यो अवधिमा १ अर्ब ५८ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने एभरेष्ट बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । एनएमबी बैंकले पनि १ अर्ब २७ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । यही अवधिमा कुमारी बैंकले १ अर्ब १८ करोड २ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा १३ वटा बैंकहरूले एक अर्बभन्दा कम नाफा कमाएका छन् । जसमध्ये सबैभन्दा कम सिटिजन्स बैंकले १ करोड ६४ लाख रुपैयाँ र अर्धसरकारी स्वामित्वको कृषि विकास बैंकले सात करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् । एक अर्बभन्दा कम नाफा कमाउनेहरूमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९१ करोड ५८ लाख, हिमालयन बैंकले ८२ करोड ३२ लाख, नेपाल बैंकले ८० करोड ९८ लाख, सानिमाले ७७ करोड ९२ लाख, प्रभूले ७३ करोड ७७ लाख, नेपाल एसबीआईले ६७ करोड २० लाख, सिद्धार्थले ६६ करोड २७ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले ६३ करोड ९ लाख, लक्ष्मी सनराइजले ६२ करोड ८१ लाख, माछापुच्छ्रेले ६० करोड ९९ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।