काठमाडौं । बीमा दाबी भुक्तानीका झन्झट पाइन्छ भन्ने बजारको भ्रम अहिले हटेर गएको छ । नियामक निकायको सक्रियता तथा बीमकहरुको चुस्तताका कारण पछिल्लो समय दाबी भुक्तानीका समस्या पर्ने गरेको छैन । जीवन बीमा कम्पनीबाट बीमित र तिनको आश्रितले पछिल्लो चार महिनाको अवधिमा १४ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी दाबी भुक्तानी लिएका छन् । नेपाल बीमा प्राधिकरणको मासिक प्रकाशन प्रतिबिम्बका अनुसार,साउन देखि कात्तिकसम्मको ४ महिनामा रु। १४ अर्ब ५९ करोड ६९ लाख बीमा दाबी भुक्तानी भएको छ । गत आर्थिक वर्षको शुरुको ४ महिनाको तुलनामा दाबी रकममा १३.६७ प्रतिशत वृद्धि भएको छ । जीवन बीमकले गरेको दाबी भुक्तानीको औसत रकम २ लाख १९० रुपैयाँ छ । यो अवधिमा जीवन बीमकहरुले कुल संख्या ७२ हजार ९१५ वटा दाबी वापतको रकम भुक्तानी गरेका हुन् । गत आ।व।को कार्तिक मसान्त्तसम्मको तुलनामा दाबी भुक्तानी संख्या ८.४० प्रतिशतले बढेको छ। जीवन बीमकबाट बीमितले ६२ हजार ५७९ वटा दाबी अन्तर्गतको रु. ५ अर्ब ४ करोड ९८ लाख भुक्तानी हुन बाँकी रहेको छ ।