काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी खोज तथा उद्धार कार्यमा प्राविधिक सहयोग र समन्वयका लागि नेपाली सेनाले पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ।
उज्यालो नेपाल पार्टीका प्रवक्ता राजेन्द्र अवस्थीका अनुसार नेपाली सेनाको आग्रहपछि घिसिङ चिलिमे जलविद्युत् आयोजनातर्फ गएका हुन्। विदेशी विज्ञसहितको उद्धार टोलीलाई आयोजनाको पावरहाउससम्म पुग्न आवश्यक प्राविधिक समन्वय तथा सुझाव उपलब्ध गराउन सेनाले घिसिङसँग सहयोग मागेको हो।
अवस्थीले सामाजिक सञ्जालमार्फत घिसिङ चिलिमेतर्फ गएको जानकारी दिँदै भनेका छन्, ‘रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धारमा सघाउन नेपाली सेनाले पूर्वऊर्जामन्त्री कुलमान घिसिङज्यूलाई बोलाएको छ। विदेशी विज्ञसहितको टोलीलाई पावरहाउस भित्र पुग्न आवश्यक प्राविधिक समन्वय र सुझाव दिन सेनाको आग्रहपछि चिलिमे जलविद्युत् आयोजनाको सवारीसाधनमा त्यसतर्फ लाग्नुभएको जानकारी गराउँदछु।’
चिलिमे जलविद्युत् आयोजनाको संरचना र प्राविधिक पक्षबारे घिसिङसँगको अनुभवलाई उद्धार कार्यमा उपयोग गर्न खोजिएको हो। उनी यसअघि चिलिमे जलविद्युत् आयोजनामा कार्यकारी निर्देशकका रूपमा समेत काम गरिसकेका छन्।
बाढीपहिरोपछि चिलिमे आयोजनाको सुरुङमा सम्पर्कविहीन रहेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना र भारतीय सेनासहितको प्राविधिक टोली परिचालन गरिएको छ। सुरुङभित्र जमेको माटो, लेदो तथा भग्नावशेष हटाउँदै उद्धार टोली पावरहाउसतर्फ अघि बढिरहेको छ।
उद्धार कार्य भौगोलिक विकटता, प्रतिकूल मौसम तथा सडक सञ्जालमा भएको क्षतिका कारण चुनौतीपूर्ण बनेको छ। आवश्यक उपकरण घटनास्थलसम्म पुर्याउनसमेत कठिनाइ भइरहेका बेला सुरुङभित्रको संरचना र पावरहाउससम्म पुग्ने मार्गबारे प्राविधिक समन्वयलाई महत्वपूर्ण मानिएको छ।
नेपाली सेनाको अनुरोधमा घिसिङ चिलिमे पुगेपछि विदेशी विज्ञसहितको उद्धार टोलीलाई सुरुङको अवस्थाबारे आवश्यक प्राविधिक सुझाव तथा आयोजनासँग सम्बन्धित जानकारी उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।